सडक वरपरका रुख : सहरी सुन्दरता कि नागरिकको काल ? (भिडियो रिपोर्टसहित)
![सडक वरपरका रुख : सहरी सुन्दरता कि नागरिकको काल ? (भिडियो रिपोर्टसहित)](https://www.himalayatv.com/wp-content/uploads/2022/07/kathmandu-rukha.jpg)
९ साउन २०७९ काठमाडौं । सहरको स्वरुप कस्तो हुनुपर्छ भन्ने बहस नेपालमा लामो समयदेखि हुँदै आएको छ । स्मार्ट सिटीको अवधारणामा छलफल चलिरहँदा सडकलाई वातावरणमैत्री बनाउने भन्दै रोपिएका रुखहरुको व्यवस्थापन भने भएको छैन ।
यसले बेलाबेला दुर्घटनासमेत निम्ताउने गरेका छन् । सडकछेउका पुराना रुखहरुको उचित व्यवस्थापन नहुँदा यसबाट मानवीय क्षतिसमेत हुने गरेको छ ।
यो दृश्यमा देखिएका रुख भक्तपुरको सल्लाघारी सडकखण्डका हुन । कहीं सडक छेउमै ढल्नै लागेको रुख छन् त कतै सडकबीचमै वर्षौ पूराना रुखले खतराको घण्टी बजाइरहेका छन् ।
सडक छेउछाउमा भएका यस्ता रुखहरुको जोखिम मूल्यांकन नहुँदा बेलाबेलामा मानवीय क्षतिसहितको दुर्घटना हुने गरेको छ । सडकमा हरियाली कायम गर्नका लागि रोपिने रुखहरु कुन प्रजातिको र कति दूरीमा रोपिनुपर्छ त्यस्को पनि कुनै मापदण्ड छैन ।
प्राविधिक अध्ययन नगरिनु, विरुवाको उचित पहिचान नगरिनु र व्यवस्थापनका कमीकमजोरीले गर्दा सडक आसपासका रुख ढलेर दुर्घटना बढेको विज्ञहरु बताउँछन् ।
काठमाडौं उपत्यकाका सडक छेउछाउमा व्यवस्थित वृक्षारोपण गर्न थालिएको लामो समय भयो । काठमाडौंको सडक किनारमा अझै पनि एकसयदेखि डेढ सय वर्ष पुराना रुखहरु पनि देखिन्छन् ।
यी बुढा रुखहरु कहिले ढल्छन् र दुर्घटना निम्त्याउछ भन्न सकिन्न । सडक छेउछाउमा हरियाली आवश्यक पर्ने उल्लेख गर्दै भूगोल सुहाउँदो रैथाने विरुवा रोपिनुपर्ने विज्ञको सुझाव छ।
भूगोल सुहाउँदो विरुवाको पहिचान गर्न सके मात्रै पनि ठूलो जोखिम कम गर्न सकिने विज्ञहरुको राय छ ।
प्रतिक्रिया