Main News

कोरोनाले थलिएको पर्यटन क्षेत्र सुधारका यस्ता छन् योजना (भिडियो रिपोर्टसहित)

२०७९ साउन ८ गते २०:४७
कोरोनाले थलिएको पर्यटन क्षेत्र सुधारका यस्ता छन् योजना (भिडियो रिपोर्टसहित)

८ साउन २०७९ काठमाडौं । कोरोना महामारीपछि धराशायी बनेको पर्यटन क्षेत्र पुनरुत्थानका लागि सरकारले ७३ बुँदे कार्ययोजना ल्याएको छ । थला परेको पर्यटन क्षेत्रलाई सरकारी योजनाले पूर्ववत् अवस्थामा फर्काउन सकिएला कि भन्ने आशा जगाएको छ ।

विदेशी मुद्रा आर्जनको प्रमुख श्रोत पर्यटन क्षेत्र कोरोना महामारी र त्यससँगै भएको लकडाउनका कारण थला पर्‍यो । सरकारले सार्वजनिक गरेको ७३ बुँदे कार्ययोजनाले थला परेको पर्यटन क्षेत्रलाई आशा दिने योजना अगाडि सारेको छ । पर्यटन, हवाई, राष्ट्रिय संस्कृति नीतिलगायतका कानून संशोधनलाई जोड दिँदै, तीनै तहको सरकार सहभागी हुने गरी हिल स्टेशनको सम्भाव्यता अध्यननको विषयमा पनि योजनामा समेटिएको छ ।

पाँच हजारदेखि ८ हजार मिटरसम्मका थप हिमाल आरोहण खुला गर्ने, पदयात्रा र पर्वतारोहणलाई थप सुरक्षित बनाउने योजना पनि यो कार्ययोजनामा समावेश छ । नेपालको पर्यटन क्षेत्रको दिगो विकासलाई जोड दिँदै सन् २०२३ देखि २०३३ को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाउन आवश्यक तयारी गर्ने सरकारको तयारी छ ।

नेपालका विमानस्थललाई अन्तर्राष्ट्रिय जगतमा प्रचारप्रसार गर्न कूटनीतिक नियोगसँग समन्वय गर्ने, बढ्दो पर्यटन बजारमा आवश्यक पर्ने प्रशिक्षित जनशक्ति तयार गर्न तालिम दिने सरकारको योजना छ । यस्तै क्लिन नेपाल ग्रिन नेपालको अवधारणलाई पनि अगाडि सारेको छ । गैरआवासीय नेपाली सड्घको नेतृत्वमा एक नेपाली एक विदेशी साथी नेपाल पठाउ अभियान पनि सञ्चालन हुनेछ ।

कोरोना महामारी पछि पर्यटन क्षेत्रको पुनरुत्थान गर्न मन्त्रालयबाट गठन गरिएको पर्यटन पुनरुत्थान प्राविधिक समितिले पनि नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानसम्बन्धी प्रतिवेदन पेश गरिसकेको छ । प्रतिवेदन अनुसार तयार पारिएको यो कार्ययोजना सार्वजनिक भएसँगै पर्यटन व्यवसायी पनि उत्साहित छन् । तर कार्यान्वयनको पाटोमा भने व्यवसायीले सरकारलाई विश्वास गरिहालेका छैनन् ।

व्यवसायीले शंका गरे पनि मन्त्रालयले कार्ययोजना कार्यान्वयन हुने दावी गरेको छ ।

सन् २०२० मा कोरोना महामारीका कारण पर्यटक नेपाल आउने दर ८१ प्रतिशतले घट्यो । त्यो वर्ष २ लाख ३० हजार ८४ पर्यटकले नेपाल भ्रमण गरे । सन् २०२१ मा यो संख्या ३४ दशमलव ३ प्रतिशतले घटेर १ लाख ५० हजार ९ सय ६२ मा झर्‍यो ।

सन् २०२१ मा विदेशी पर्यटकबाट हुने आम्दानी ४६ प्रतिशतले घटेर १३ अर्व ५० करोड ११ लाख रहेको सरकारी सर्वेक्षणले देखाएको छ । सरकारको यो अभियानले पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न सके नेपालको विकास र रोजगारीमा मद्दत पुग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *