Main News

एसपीपी सम्बन्धमा अमेरिकालाई लेखेको पत्रबारे सदनलाई जानकारी दिन माग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन ८ गते १५:१४
एसपीपी सम्बन्धमा अमेरिकालाई लेखेको पत्रबारे सदनलाई जानकारी दिन माग (भिडियो रिपोर्टसहित)

८ साउन २०७९ काठमाडौं । नेकपा (एमाले) का सांसद भीमबहादुर रावलले एसपीपीको सम्बन्धमा अमेरिकालाई पत्र लेखेको अवस्थाको बारेमा संसदलाई जानकारी दिन सरकारले आनाकानी गरेको बताउनुभएको छ ।

आज प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद रावलले एसपीपी सम्झौता कार्यान्वयन नगर्ने सरकारको निर्णय अमेरिकालाई जानकारी नगराइएको बताउनुभयो । उहाँले पत्र पठाए, नपठाएको सम्बन्धमा संसदमा जानकारी गराउन सभामुखले गरेको निर्देशन पनि सरकारले नमानेको बताउनुभयो ।

सभामुख र संसदीय समितिको निर्देशन सरकारले नसुनेको भन्दै उहाँले सरकारले श्रवणशक्ति गुमाएको टिप्पणी गर्नुभयो । उहाँले सरकारको श्रवणशक्ति गुमेकाले कानको उपचार आवश्यक भएको र जनताले चुनावमा कानको उपचार गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘एसपीपीको सम्बन्धमा सरकारको निर्णयको कार्यान्वयनको अवस्था र पत्र पठाएको अवस्थाको सम्बन्धमा के छ भनेर सदनलाई जानकारी गराउनको लागि सभामुखले निर्देशन दिनुभएको आज पाँच दिन बित्यो । सरकार कहाँ छ ? यो देशमा छ ? कि कतै छ ?’

उहाँले बेलायतमा रहेका भूतपूर्व गोर्खा सैनिकको समस्या समाधानमा सरकारले ध्यान दिनुपर्ने बताउनु भयो । विगत लामो समयदेखि भूतपूर्व गोर्खा सैनिक भर्ती सन्धी असमान र अपमानजनक रहेको भन्दै खारेजीको मागसहित आन्दोलित भएको भन्दै सो विषय नेपालको स्वाधिनता, स्वाभिमान र हितसँग गाँसिएको विषय भएको बताउनु भयो ।

सरोकारवालासँग छलफल गरी समस्या समाधानमा सरकारले पहलकदमी लिनुपर्ने उहाँको भनाइ छ ।

सांसद रावलले यस सम्बन्धमा सरकारले हालसम्म गरेका काम, कारबाही संसदलाई जानकारी गराउन पनि माग गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *