राजनीति

नागरिकतासम्बन्धी विधेयक पारित गर्न किन देखाइयो रहस्यमय हतार ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन ७ गते २१:०५
नागरिकतासम्बन्धी विधेयक पारित गर्न किन देखाइयो रहस्यमय हतार ? (भिडियो रिपोर्टसहित)

७ साउन २०७९ काठमाडौं । लामो समयदेखि विवादका कारण संसदमा अड्किएको नागरिकतासम्बन्धी विधेयक सरकारले अचानक फिर्ता लियो । र, नयाँ विधेयक दर्ता गरेर शुक्रबार हतारहतार पारित भएको छ । विधेयक पास हुँदै गर्दा विवादका केही विषय टुङ्गो लागेको छ । तर केही विषयमा भने विधेयक मौन देखिन्छ ।

संसदमा ४ वर्ष अल्झिएको नागरिकता विधेयक सरकारले फिर्ता लियो । सरकारले दर्ता गरेको नयाँ विधेयक शुक्रबार संसदबाट पारित भयो । विक्रम संवत २०७२ सालमा नयाँ संविधान जारी भएपछि संसदमा ४ वर्ष अल्झिएको नागरिकता विधेयक फिर्ता गरेर सरकारले ल्याएको नयाँ विधेयक पारित भएको हो ।

अन्तरिम संविधान–२०६३ मा २०४६ साल चैत मसान्तसम्म नेपालमा जन्म भएको र स्थायी बसोबास गरेका व्यक्तिलाई जन्मको आधारमा नागरिकता दिने व्यवस्था गर्‍यो । गृह मन्त्रालयको तथ्याङ्क अनुसार यो ऐन लागु भएदेखि नयाँ संविधान जारी नहुँदासम्म झण्डै दुई लाखले जन्मसिद्ध नागरिकता प्रमाणपत्र लिएका छन् ।

तर, २०७२ ले यो जन्मको आधारमा नागरिकता दिने व्यवस्था खारेज गर्‍यो । तर, संविधान जारी हुनु अघि जन्मका आधारमा नागरिकता पाएकाहरुको हकमा वंशजको आधारमा नागरिकता दिने व्यवस्था उल्लेख भयो ।

शुक्रबार पारित भएको नागरिकता विधेयकको दफा २ मा संविधान जारी भएको मिति अघि बुबा र आमा दुबैले जन्मको आधारमा नागरिकता पाएको भए निजका सन्तानले उमेर पुगेपछि वंशजका आधारमा नागरिकता प्राप्त गर्नेछन् ।

नेपालको संविधान २०७२ मा महिला र पुरुषलाई समान वंशीय हक हुने उल्लेख भए पनि बाबु विदेशी नभएको ठहर नगर्दासम्म आमाको नामबाट नागरिकता प्राप्त गर्न सक्ने अवस्था थिएन । तर, नयाँ विद्येयकको दफा ४ मा नागरिकता प्राप्त गर्ने व्यक्ति बुबा र निजको आमाले श्रीमान् पहिचान नभएको स्वघोषणा गरेमा नागरिकता प्राप्त गर्ने उल्लेख छ । तर, यो कुरा गलत ठहरिएमा एक बर्षदेखि ३ बर्षसम्म कैद वा एक लाखदेखि ३ लाखसम्म जरिवाना वा दुबै हुनेछ भनि उल्लेख गरिएको छ ।

नयाँ विधेयक जारी भएपछि अब गैर आवासिय नागरिकले पनि राजनीतिक र प्रशासनिक बाहेकका अधिकार प्रयोग गर्न पाउने गरी नागरिकता लिन सक्नेछन् । तर, त्यसका लागि बुझाउनु पर्ने कागजात र शर्तहरु राखिएका छन् । नागरिकता ऐन संशोधन नहुँदा गैरआवासीय नेपालीले नागरिकता पाउन सकेका थिएनन् ।

नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलाले अंगीकृत नागरिकता पाउने व्यवस्थालाई नयाँ विधेयकले निरन्तरता दिएको छ ।
नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गर्ने विदेशी महिलाले विवाह दर्ता भए लगत्तै अंगीकृत नागरिकताको प्रक्रिया अगाडी बढाउन सक्ने व्यवस्था पुरानै हो । त्यहि बुँदा परिवर्तन गरेर निरन्तर ७ बर्ष बसेपछि मात्रै प्राप्त गर्ने व्यवस्था राख्न भन्दै विवाद हुँदा लामो समय विधेयक नै पास हुन सकेन । तर नयाँ विधेयकमा सोही व्यवस्थालाई निरन्तरता दिइयो ।

अन्तरिम संविधानको धारा १२ ले तेस्रो लिंगीलाई ईंगित गर्दै लैंगिक पहिचानसहित नागरिकता लिनसक्ने उल्लेख गरेको थियो । तर नयाँ जारी गरिएको विद्येयक पहिचान खुलाउने विषयमा मौन छ । नाम थर फेर्न वा उपनाम राख्न सकिने र प्रदेशको पहिचान उल्लेख गर्ने प्रावधान पनि यो विधेयकमा हटाइएको छ ।

छलफलका क्रममा आएका केही विषयलाई भने विधेयकमा समावेश गरिएन । बाबुआमाले नागरिकता दिलाउन नचाहे वा बुबाआमा दुबैको मृत्यू भएर अरुले नागरिकता दिन नचाहे के गर्ने भन्ने विषयमा यो विधेयक बोलेको छैन । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेकी महिलाले विदेशमा नै जन्माएको सन्तानले नागरिकता पाउने विषयमा पनि विद्येयक मौन नै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्