राजनीति

विपीको सिद्धान्त छाडेका छैनौँ : वरिष्ठ नेता पौडेल

२०७९ साउन ७ गते १४:२८
विपीको सिद्धान्त छाडेका छैनौँ : वरिष्ठ नेता पौडेल

७ साउन २०७९ दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विपीको सिद्धान्त कांग्रेसले नछाडेको बताउनुभएको छ ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको चालिसाँै स्मृति दिवसका अवसरमा तनहुँको भानु नगरपालिका–६ बरभञ्ज्याङस्थित बुद्धसिं पार्कमा आज आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस सधैँ विपीको पथमा हिँडिरहेको बताउनुभयो । विपीले भनेका विषयलाई समय सापेक्ष परिवर्तन गरिए पनि विपीको आदर्श र सिद्धान्तलाई छाड्न नसकिने पौडेलको भनाइ थियो ।

वरिष्ठ नेता पौडेलले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताउनुभयो । गठबन्धनका विषयमा कुनै विवाद नरहेको भन्दै वरिष्ठ नेता पौडेलले लोकतन्त्र बचाउन र संविधान रक्षाका लागि पनि गठबन्धन आवश्यक रहेको धारणा राख्नुभयो ।

वरिष्ठ नेता पौडेलले प्रत्येक गाउँमा पोखरी र चौतारी बनाउनुपर्ने बताउनुभयो । पोखरी र चौताराको सभ्यतालाई कायम गर्नुपर्ने बताउँदै पौडेलले भन्नुभयो, “पहिला पहिला सबै गाउँमा पोखरी र चौतारा हुन्थे, यसले गाउँको सुन्दरता थपेको थियो, आजभोलि हराउँदै जान थालेको छ । यसलाई संरक्षण गर्नुपर्छ ।”

वरिष्ठ नेता पौडेलले तनहुँमा कांग्रेसको नेतृत्वमा धेरै काम सुरु भएकाले यसलाई सम्पन्न गराउने जिम्मेवारी पनि कांग्रेसको भएको बताउनुभयो । “मेरो नेतृत्वमा धेरै पूर्वाधारका काम भएका छन्, यसलाई सम्पन्न गराउनेतर्फ म तीव्र गतिमा लागिरहेको छु,” पौडेलले भन्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्