Main News

नागरिकता विधेयकलाई फाष्ट ट्रयाकबाट पारित गर्नु देश हितविपरीतः सांसद सुवाल

हिमालय टिभी
२०७९ साउन ६ गते १४:२०
नागरिकता विधेयकलाई फाष्ट ट्रयाकबाट पारित गर्नु देश हितविपरीतः सांसद सुवाल

६ साउन २०७९ काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयकलाई फाष्ट ट्रयाकबाट पारित गर्नु देशको हितमा नभएको बताउनुभएको छ ।

आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले नागरिकता विधेयक फाष्ट ट्रयाकबाट पारित गर्न खोज्नु देशको हितमा नभएको बताउनुभएको हो । उहाँले नागरिकता विधेयकलाई सम्बन्धित समितिमा पठाउनुपर्ने बताउनुभयो ।

नागरिकताको विषय सार्वभौमिकतासँग सम्बन्धित विषय भएकाले जनतासँग समेत छलफल गर्नेगरी कार्यसूची बनाउनु जरुरी रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘नागरिकता विधेयक फाष्ट ट्रयाकबाट पारित गर्न खोजेको विषय देशको हितमा छैन । सम्बन्धित समितिमा विधेयक पठाउनु जरुरी छ । र यो विधेयक सार्वभौमिकतासँग सम्बन्धित भएको हुँदा जनतासँग समेत छलफल गर्नेगरी कार्यसूची बनाउनु जरुरी छ ।’

नेपालको नागरिकता समस्या समाधान गर्न खुला सीमा बन्द गर्नुपर्ने उहाँको भनाइ छ । आमा र बुबा दुवै वंशजको नेपाली नागरिकका छोराछोरीलाई मात्र वंशजको नेपाली नागरिकता दिनुपर्ने उहाँले बताउनुभयो ।

जन्मको आधारमा दिएको नागरिकता विदेशीले पनि पाएकाले छानबिन गरी खारेज गर्नुपर्ने उहाँले बताउनुभयो । सांसद सुवालले निर्वाचन, सरकारी सेवा, राजनीतिक नियुक्ति, उद्योग, व्यापारका लागि वंशजको नेपाली नागरिक आवश्यक हुने व्यवस्था गर्नु जरुरी रहेको उल्लेख गर्नुभयो ।

त्यस्तै नेपालीले विदेशीसँग विवाह गर्न निरुत्साहित गर्नुपर्ने र नेपालीसँग विवाह गरेका महिला वा पुरुषलाई २० वर्षपछि नेपालको भाषा र संस्कृतिबारे लिखित र अन्तर्वार्ता परीक्षा उत्तीर्ण गरेमा नेपालको कृतिम नागरिकता दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *