Main News

भारतमा चुनाव हारेर नेपालमा सांसद बन्ने गरी नागरिकता नबाँड्न जनमोर्चाको आग्रह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन ६ गते १४:१४
भारतमा चुनाव हारेर नेपालमा सांसद बन्ने गरी नागरिकता नबाँड्न जनमोर्चाको आग्रह (भिडियो रिपोर्टसहित)

६ साउन २०७९ काठमाडौं । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण गर्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आजको संसद बैठकमा बोल्दै सांसद पौडेलले सरकारलाई यस्तो ध्यानाकर्षण गराउनुभएको हो । उहाँले वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ भन्ने कुरामा दुई मत नभएको भन्दै भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण गर्न नहुने बताउनु भयो ।

सांसद पौडेलले नेपालीसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात वर्षको प्रावधान राखिनुपर्ने बताउनुभयो । उहाँले विदेशी महिला नेपाली केटासँग विवाह गरेर आउने बित्तिकै नागरिकता दिने प्रावाधान हटाइ सात वर्षको प्रावधान नराखिए अन्यथा राष्ट्रियतामा दूरगामी रुपमा धेरै ठूलो क्षति हुने दाबी गर्नुभयो ।

सांसद पौडेलले अंगीकृत नागरिकता सिधै प्रदान गर्नु विधिशास्त्र र कुनै सिद्धान्तले नदिने बताउनुभयो । उहाँले कुनैपनि देशले आफ्नो भौगोलिक अवस्था, सिमानाको अवस्था आदिको सर्वपक्ष मूल्याङ्कन गरेर देशको हितमा हुने गरी नागरिकता वितरण गर्ने हरेक देशको आ–आफ्नो प्रचलन रहेको बताउनुभयो । सांसद पौडेलले वंशजको नागरिकता जन्मको आधारमा दिने कुरा गलत हुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘हाम्रो नागरिकतामा वंशज र अगीकृत जुन छ । त्यो अत्यन्त महत्वपूर्ण कडी हो । वंशजको नागरिकता पुर्खाहरुले लडेर रगत बगाएर वंशजको नागरिकतालाई स्थापित गरेका हुन् । त्यसैले वंशजको नागरिकता जन्मको आधारमा दिनेकुरा गलत हुन्छ । ’

उपाध्यक्ष पौडेलले बुबा र आमा दुबै वंशजका छन् भने त्यो नागरिकले मात्रै वंशजको आधारमा नागरिकता पाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *