Main News

नेपालगञ्जको तातो हावाबारे अध्ययन हुँदै

२०७९ साउन ६ गते १३:५५
नेपालगञ्जको तातो हावाबारे अध्ययन हुँदै

६ साउन २०७९ नेपालगञ्ज । नेपालगञ्जको तापक्रम र तातो हावा (लु) बारे यहाँ अध्ययन सुरु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले बढ्दो तापक्रम (लु) न्यूनीकरणका लागि आवश्यक कदम चाल्न र त्यसको असरबारे अध्ययन थालेको हो ।जिल्लास्थित नेपाल रेडक्रस सोसाइटीको आयोजनामा तातो हावासम्बन्धी कार्यशालामा उपमहानगर प्रमुख प्रशान्त विष्टले नेपालको सबैभन्दा बढी गर्मी हुने सहरमा ‘हिटवेभ’सम्बन्धी अध्ययन भइरहेको र अध्ययन प्रतिवेदनको आधारमा योजनाबद्ध तरिकाले काम अगाडि बढ्ने बताउनुभयो ।

उहाँले तातो हावा कम गर्न नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै यसमा सरोकारवाला व्यक्तिको सहयोग आवश्यक पर्ने जानकारी दिनुभयो । कार्यशालामा नरेडक्रसले नेपालगञ्जलाई केन्द्रित गरी तातो हावाका सम्बन्धमा गत वर्ष गरेको अनुसन्धानात्मक अध्ययनको निष्कर्ष प्रस्तुत गरिएको थियो । अनुसन्धानमा नेपालगञ्जमा उच्च तापक्रम भएका वडाहरु, तातो हावाका कारण सङ्कटासन्न वडा एवं समूह, यसले पारेको असर न्यूनीकरणका लागि गरिएका गतिविधि र आगामी दिनमा गर्न सकिने पहलबारे प्रस्तुती गरिएको थियो ।

कार्यशालामा सहभागी अधिकांशले ‘हिटवेभ’को असरलाई कम गर्न स्थानीय तहले सक्रियता देखाउनुपर्ने, जलसञ्चय हुने पोखरी तथा तालहरु संरक्षण गर्नुपर्ने र खुला स्थानमा वृक्षरोपण गरी हरियाली गर्नुपर्नेमा जोड दिएका थिए । रेडक्रसका सभापति गोवद्र्धन सिंहले ‘हिटवेभ’का बारेमा बारेमा चर्चा गर्दै समुदायको क्षमता विकासमा रेडक्रसले सहयोग गर्ने बताउनुभयो । रेडक्रसका विपद् तथा सङ्कट व्यस्थापन विभाग निर्देशक विपुल न्यौपानेले ‘हिटवेभ’सम्बन्धी छलफल र नेपाल सरकारको निकायले दिएको तथ्याङ्कको आधारमा ‘हिटवेभ’को रिपोर्ट तयार गरिएको जानकारी गराउनुभयो ।

रेडक्रसले नमूनाका रुपमा नेपालगञ्जमा सञ्चालन गरिरहेको ‘हिटवेभ’ प्रतिकार्य कार्यक्रमबाट जनचेतनामूलक गतिविधि सञ्चालन गरिएको जनाएको छ । कार्यक्रममा परामर्शदाता आश्मा सुवेदीले अध्ययन प्रतिवेदन र युनिसेफका नरेश निदालले सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनामा समुुदायस्तरको अध्ययन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *