राजनीति

सांसद भीमबहादुर रावलको २० मिनेटकाे त्यो जिद्दी, जसले संसद बैठक नै स्थगित गरायाे (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन ४ गते २१:२५
सांसद भीमबहादुर रावलको २० मिनेटकाे त्यो जिद्दी, जसले संसद बैठक नै स्थगित गरायाे (भिडियो रिपोर्टसहित)

४ साउन २०७९ काठमाडौं । नेकपा एमाले सांसदका भीमबहादुर रावलले विरोधको नयाँ शैली अपनाएपछि संसद बैठक नै स्थगित हुनपुग्यो । सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी नहुने निर्णय गरे पनि पत्र नपठाएको भन्दै संसदको रोष्टम नछाडेपछि सदन नै स्थगित गर्नुपरेको हो ।

सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी नहुने भनी गरेको निर्णय अनुसारको पत्र अमेरिकालाई नपठाइएको भन्दै एमाले नेता भीमबहादुर रावलले सरकारलाई रुलिङ गर्न माग गर्नुभयो । रावलले पटकपटक सरकारका तर्फबाट सदनलाई ढाँट्ने काम मात्रै भएको भन्दै रुलिङ नभएसम्म रोष्टम नछाड्ने अडान लिनुभयो ।

मन्त्रिपरिषदले एसपीपीमा सहभागी नहुने निर्णय गरिसकेको अवस्थामा पत्राचार गर्न कसले र किन रोकेको भन्दै रावलले लगातार सदनमार्फत सरकारलाई रुलिङ गर्नुपर्ने माग जारी राख्नुभयो । सभामुखको आशनमा रहेका सांसद सत्य पहाडीले पटक–पटक सांसद रावललाई आशन ग्रहण गर्न आग्रह गरे पनि सांसदले एसपीपीमा सहभागी नहुने पत्र पठाइ सदनलाई जानकारी गराउपर्ने माग राखेर रोष्ट्रममै उभिइरहनुभयो ।

बैठकमा, ग्लोबल ग्रिनग्रोथ इस्टिच्यूटको सहभागितामूलक सदस्यको रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्नेसम्बन्धी सम्झौतामाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्तावमाथि छलफल भइरहेको थियो । प्रस्तावमा धारणा राख्न रोष्ट्रममा पुगेका सांसद रावलले एसपीपीको विषय उठाएर सरकारलाई रुलिङ गर्न माग गर्नुभयो । उहाँले सरकारलाई सहयोग गर्नका लागि नै आफूले यस्तो माग राखेको बताउनुभयो ।

सभामुख अग्निप्रसाद सापकोटाले पनि पटक–पटक विषयान्तर भएको भन्दै सांसद रावललाई आशन ग्रहण गर्न आग्रह गर्नुभयो । तर रावलले मान्ने अवस्था नभएपछि सदन नै स्थगित भयो । सरकारले एसपीपीमा सहभागी नहुने निर्णय गरे पनि अहिलेसम्म अमेरिकालाई यो जानकारीसहितको पत्र नपठाउँदा आलोचना भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *