राजनीति

एमाले र एकीकृत समाजवादीबीच एकता हुँदैछ? (भिडियो रिपोर्टसहित)

२०७९ साउन ३ गते २०:५४
एमाले र एकीकृत समाजवादीबीच एकता हुँदैछ? (भिडियो रिपोर्टसहित)

३ साउन २०७९ काठमाडौं । वाम सहकार्यको चर्चा चलिरहँदा नेकपा एमाले र एमालेबाटै फुटेर बनेको एकीकृत समाजवादी पार्टीबीच पनि आन्तरिक छलफल शुरु भएको छ । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनसँग असन्तुष्ट एकीकृत समाजवादीका केही नेता पुरानै घर फर्किनेगरी छलफलमा जुटेका हुन् । यो छलफलले पाउला त कुनै ठोस आकार ?

११ महिना अगाडि एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादीभित्र वाम गठबन्धन गर्नुपर्ने आवाज बलियो बन्दै गएको छ । केही समय अघिदेखि नै कम्युनिष्ट एकतामा जोड दिनेमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसाल रहेकोमा विस्तारै अरू नेता पनि एकताका लागि खुल्न थालेका छन् ।

सोमबार, नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेकपा एकीकृत समाजवादीको ठूलो हिस्सा एमालेमा फर्किन लागेको बताउनु र त्यसपछि माधवकुमार नेपालको पनि एमालेबाहेक अन्यत्र जाने ठाउँ नभएकाले एमालेमै फर्किने पाण्डेले दाबी गर्नुले पनि छिट्टै नै एकता हुने हो कि भन्ने आधार बलियो बनाएको छ ।

एकीकृत समाजवादी मात्र होइन, पाण्डेले माओवादी केन्द्रका केही नेताहरूसँग पनि कुराकानी भइरहेको बताउनुभयो । त्यसो त कार्यदिशाका हिसाबले अलग्गै बस्नुपर्ने अवस्था नरहेकाले पनि यी पार्टीलाई मिल्न दबाब परिरहेको छ र नेताहरू त्यो प्रयासमा लागेका पनि छन् । तर, एकीकृत समाजवादीका नेताहरू एमालेसँग विश्वसनीय आधार खोजिरहेका छन् ।

अहिले एकीकृत समाजवादीका नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतमा पेलेर अघि बढेको र अहंकार देखाएकाले मात्रै पार्टी विभाजन भएको बताउँदै आएका छन् ।

एमाले, एकीकृत समाजवादी र माओवादी केन्द्रका नेताहरू गाँठो फुकाएर अघि बढ्छन कि पुरानै गाँठोमा अल्झिन्छन् त्यो भने हेर्न बाँकी नै छ । अर्कोतिर माओवादी केन्द्र, एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानले पनि छलफललाई निरन्तरता दिँदै आएका छन् । वाम छलफल निरन्तर चल्दा स्थानीय तह निर्वाचनको परिणामले झस्किएको एमाले पनि लचिलो बन्न थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्