एआईजी विश्वराज पोखरेलद्वारा पदबाट राजीनामा

२ साउन २०७९ काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिनुभएको छ ।
नेपाल प्रहरीको मानव स्रोत विभागमा उपस्थित भएर पोखरेलले राजीनामा दिनुभएको हो । धिराजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध पोखरेलले सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो ।
गत शुक्रबार सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला नदिएपछि पोखरेलले राजीनामा दिनुभएको हो ।
पोखरेलको राजीनामा प्रहरी महानिरीक्षकमार्फत गृह मन्त्रालयमा र गृह मन्त्रालयबाट मन्त्रिपरिषदमा पेश हुनेछ । एआईजीको राजीनामा मन्त्रिपरिषदले स्वीकृत गर्नुपर्ने व्यवस्था छ ।
सरकारले सिंहलाई आईजीपी बनाएलगत्तै पोखरेल विदामा बस्नुभएको थियो । तत्कालीन महानिरीक्षक शैलेश थापा क्षेत्रीले पोखरेलको एक महिने विदा स्वीकृत गर्नुभएको थियो ।
पुनः विदा माग गरेपछि आईजीपी सिंहले अस्वीकार गर्नुभएको थियो । तर एआईजी पोखरेल कार्यालय जानुभएन ।
निरन्तर ४५ दिनसम्म कार्यालयमा नगए कारबाही पनि हुने भएकाले पोखरेलले राजीनामा दिनुभएको हो । पोखरेलको कार्यकाल यही साउन २० गतेसम्म मात्र थियो ।
प्रतिक्रिया