राजनीति

कांग्रेस बैठकमा प्राइमरी इलेक्सनको चर्चा (भिडियो रिपोर्टसहित)

२०७९ साउन १ गते २१:०८
कांग्रेस बैठकमा प्राइमरी इलेक्सनको चर्चा (भिडियो रिपोर्टसहित)

१ साउन २०७९ काठमाडौं । संघ र प्रदेशको आगामी निर्वाचनका लागि दलहरु आन्तरिक छलफलमा जुटेका छन् । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पनि आगामी निर्वाचनको तयारीबारे छलफल भयो । स्थानीय तहको निर्वाचनबाट उत्साहित कांग्रेसमा प्राइमरी इलेक्सन अर्थात पार्टीभित्रै निर्वाचनको विषयले प्रवेश पाएको छ ।

नेपाली कांग्रेसको शनिबार बसेको केन्द्रीय समितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्राइमरी इलेक्सनको विषय प्रवेश गराउनुभयो । कांग्रेसमा चुनावी प्रतिष्पर्धाका लागि उम्मेदवार बन्न शीर्ष नेताको घर धाउनुपर्नेदेखि रकमको चलखेलसम्म हुने गरेको आलोचना हुँदै आएको छ ।

यसैलाई ध्यानमा राखेर महामन्त्री शर्माले आफ्ना कार्यकर्ताबाटै चयन गराएर उम्मेदवार टुंगो लगाउन प्रस्ताव गर्नुभएको छ । यो प्रस्तावमा पदाधिकारीहरुले छलफल गरेर टुंगोमा पुग्नुपर्ने बताएकाछन् ।

उम्मेदवार छनोट गर्दा लोकतान्त्रिक अभ्यासको उच्चतम प्रयोगका रुपमा प्राइमरी इलेक्सनलाई लिइन्छ । अर्कोतर्फ आगामी निर्वाचनमा गठबन्धन गरेर अगाडि बढ्ने रणनीति बनाइरहेको कांग्रेसमा नयाँ पुस्ताका नेताहरुले टिकट नपाउने भयका कारण यो प्रस्ताव आएको हुनसक्ने केही नेताले टिप्पणी गरेका छन् ।

बैठकमा १ सय ६५ संघीय निर्वाचन र ३ सय ३० प्रदेश निर्वाचनमध्ये केही स्थानका आगामी निर्वाचनमा प्राइमरी इलेक्सन गर्ने प्रस्ताव आएपछि त्यसमा सोमबार बस्ने बैठकमा छलफल हुने बताइएको छ । प्राइमरी इलेक्लनको चर्चालाई पार्टीका नेता, कार्यकर्ताहरुले समेत सकारात्मक भनेका छन् ।

निर्वाचनको बेला कांग्रेसमा धेरै बागी उम्मेदवार बन्नेदेखि पार्टीमा अन्तरघात हुने गरेका घटना बाहिरिने गरेका छन् । कांग्रेसले लोकतान्त्रिक अभ्यासको रुपमा प्राइमरी इलेक्सनलाई पाइलट प्रोजेक्टको रुपमा छलफल अघि बढाउनुपर्ने जानकारहरुको मत छ । यो प्रस्तावमा कांग्रेस मात्र नभएर अन्य दलले पनि छलफल चलाउँदै गए निर्वाचनका बेला हुने आर्थिक चलखेललाई समेत कम गर्ने थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्