Main News

स्थानीय तहमा यस्तो दलीय खिचातानी, बजेट पारित नहुँदा विकास प्रभावित (भिडियो रिपोर्टसहित)

२०७९ असार ३२ गते २०:३४
स्थानीय तहमा यस्तो दलीय खिचातानी, बजेट पारित नहुँदा विकास प्रभावित (भिडियो रिपोर्टसहित)

३२ असार २०७९ रुपन्देही । रुपन्देहीका ४ स्थानीय तहले अझै आफ्नो बजेट पारित गर्न सकेका छैनन् । राजनीतिक दलको द्वन्द्वका कारण बजेट पारित गर्न नसकेका हुन् । राजनीतिक दलको टकरावका कारण विकास निर्माणका काम अघि बढ्न सकेको छैन ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शुक्रबार दिउँसो १ बजेका लागि नगरसभाको १२ औं अधिवेशनको तेश्रो बैठक आह्वान गर्‍यो । बैठकको मुख्य एजेण्डा थियो, बजेटमाथि छलफल र पारित । तर, उपप्रमुख जागेश्वरी चौधरी भने मञ्चमा राखिएको सोफामा बस्न जानु भएन । झण्डै २ घण्टापछि चौधरी मञ्चमा जानुभयो । तर नगरप्रमुख रामकृष्ण खाणले गणपूरक संख्या नपुगेको भन्दै साउन १ गते फेरि बैठक बस्ने गरि स्थगित गर्नुभयो ।

बैठक सरेको यो पहिलो पटक होइन । १० गते प्रस्तुत भएको बजेटमाथिको छलफलका लागि २१ गतेका लागि बैठक बोलाइएको थियो । तर २१ गते स्थगित गरी २६ गतेका लागि सारिएको भए पनि त्यो दिन पनि बैठक बस्न सकेन ।

बजेट छलफलका लागि बसेको नगरसभाले न्यायिक समिति, लेखा समिति, विधायन समिति र सुशासन समिति पारित गर्ने कार्यसूची राख्नुपर्ने एमालेबाट निर्वाचित जनप्रतिनिधिको माग छ ।

तिलोत्तमा नगरपालिकाको ८९ सदस्यीय नगर सभामा एमालेका ४८ र कांग्रेसका ४१ सदस्य छन । कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले भने बहुमतको दम्भका कारण बजेट पारित हुन नदिएको आरोप लगाएका छन् ।

तिलोत्तमा नगरपालिका मात्र होइन रुपन्देहीका ४ वटा स्थानीय तहले बजेट सार्वजनिक गरे पनि अझै पारित भने गर्न सकेका छैनन् । व्यवहारमा जे देखिएको भए पनि राजनीतिक स्वार्थ बजेट पारित गर्ने क्रममा देखिएको छ । तर, स्थानीय तहमा सत्तापक्ष र प्रतिपक्षको परिकल्पना नगरिएको विज्ञहरु बताउँछन् ।

राजनीतिक दलले आआफ्नो स्वार्थलाई मात्र केन्द्रमा राखेर भागबण्डामा केन्द्रित हुँदा विकासको काम भने प्रभावित बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *