राजनीति

एकअर्काविरुद्ध निशाना साँध्नमै सीमित कांग्रेस केन्द्रीय समिति बैठक (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार ३२ गते १९:१०
एकअर्काविरुद्ध निशाना साँध्नमै सीमित कांग्रेस केन्द्रीय समिति बैठक (भिडियो रिपोर्टसहित)

३२ असार २०७९ काठमाडौं । नेपाली कांग्रेसको ५ दिनसम्म चलेको बैठकमा संस्थापन र संस्थापनइतर समूहले आ–आफ्नो पोजिसन लिए ।

संस्थापनइतर समूहले सभापति शेरबहादुर देउवालाई निशाना बनाउँदा संस्थापन समूहले भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि निशाना साँध्यो ।

कांग्रेसको संस्थापन र संस्थापनइतर समूहबीच बैठकमा गरमागरम चल्यो । १४औं महाधिवेशनमा सभापतिका प्रत्यासी शेखर कोइरालाले बैठकको शुरुमै पार्टी विधानसम्मत नचलेको लगायतका १२ सवाल उठाउनुभयो ।

स्थानीय तह निर्वाचनको टिकट वितरणमा स्थानीय पार्टी संरचनालाई बेवास्ता गरेको, टिकट वितरण न्यायोचित हुन नसकेको, आवश्यकता र औचित्य हेरेर मात्र गठबन्धन गर्नुपर्ने, भातृ संस्था निष्प्रभावी बनेको लगायतका विषय कोइरालाले उठाउनुभयो ।

कोइराला निकट प्रदेश सभापतिहरुले पनि पार्टी सभापति शेरबहादुर देउवाको कामकारवाहीमा प्रश्न उठाएका थिए । सभापति देउवामाथि प्रश्न उठाइएपनि संस्थापन समूहका केही नेताहरुले प्रतिवाद गर्नुभएको थियो ।

केन्द्रीय सदस्य राजीव ढुँगाना, रामजनम चौधरीलगायतले महामन्त्रीद्वय गगन थापा र विश्वप्रका शर्मामाथि प्रश्न उठाउनुभयो । उहाँहरुले महामन्त्री थापा गुटको भेलामा गएको, पार्टी हितविपरीत प्रतिक्रिया दिएको, पार्टी निर्णय नभई निर्वाचन आयोग पुगेको भन्दै संस्थापन समूहका नेताहरुले आलोचना गरेका थिए ।

संस्थापन समूहकै केही केन्द्रीय सदस्यले स्थानीय तहको निर्वाचनमा भएको गठबन्धनमा असन्तुष्टि जनाएका थिए । सहमहामन्त्री बद्री पाण्डे र जीवन परियारले भातृ संस्थामा मनोनित गर्दा कोइरालासँग सल्लाह नगरेको भन्दै सभापति देउवासँग जवाफ माग गर्नुभयो ।

उसो त बैठकमा सभापति देउवाले उस्तै परे विधान संशोधन गरेर तेस्रो पटक पार्टी सभापति बन्ने घुर्कीसमेत लगाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्