राजनीति

नेपाली कांग्रेसभित्र सभापति-महामन्त्री टसल यसरी बढ्दै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार ३१ गते २१:२३
नेपाली कांग्रेसभित्र सभापति-महामन्त्री टसल यसरी बढ्दै (भिडियो रिपोर्टसहित)

३१ असार २०७९ काठमाडौं । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा र महामन्त्रीबीच दूरी बढेको छ । कांग्रेसको केन्द्रीय समिति बैठकमा सभापति देउवा र संस्थापनइतर समूह आमनेसामने हुँदै जाँदा सभापति र महामन्त्रीहरुबीच दूरी बढ्दै गएको हो ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुँदा उहाँको प्यानलमा रहेका महामन्त्रीका उम्मेदवार डा. प्रकाशशरण महत र प्रदीप पौडेल पराजित हुनुभयो । शेखर कोइराला प्यानलमा रहेका गगन थापा र प्रकाशमान सिंह प्यानलमा रहेका विश्वप्रकाश शर्मा महामन्त्री निर्वाचित हुनुभयो ।

नयाँ समिति आएको केही समयसम्म सभापति देउवा र महामन्त्री थापाबीचको सम्बन्ध हार्दिक नै थियो । उसो त त्यतिबेला अर्का महामन्त्री शर्मा उपेक्षमा हुनुहुन्थ्यो । अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित गर्ने समयमा थापा देउवा सम्बन्धन सुमुधुर थियो । तर, अहिले महामन्त्रीद्वय थापा र शर्मा एक ठाउँमा देखिँदा देउवा पक्ष उनीहरुमाथि जाइलाग्न थालेको छ ।

केन्द्रीय समिति बैठकअघि कोइराला पक्षको गुटको बैठकमा महामन्त्री थापा सहभागी भएको, पार्टीमा छलफल नै नगरी गैरआवासीय नेपालीलाई मताधिकार माग गर्दै महामन्त्रीद्वय थापा र शर्मा निर्वाचन आयोग पुगेको लगायतको विषयमा देउवा निकटस्थले प्रश्न उठाएका छन् ।

महामन्त्रीद्वय शर्मा र थापाले भातृ संस्थाको भद्रगोल अन्त्य गर्नुपर्ने, समयमै विभाग गठन गर्नुपर्ने लगायतका विषयमा सार्वजनिक रुपमै बोल्दै आएका छन् । पार्टीलाई विधानसम्मत चलाउनुपर्ने पक्षमा देखिएका महामन्त्रीद्वयले सरकारको कामकारवाहीमाथि समेत प्रश्न उठाइरहेका छन् । यो कुरा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवापक्षले नरुचाएको महामन्त्री निकट नेताको बुझाइ छ ।

कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा देउवा निर्वाचित हुँदा एक उपसभापति र दुई महामन्त्री भने फरक गुटबाट निर्वाचित भए । सभापतिका रुपमा पार्टी एकलौटी चलाउँदै आएको आरोप खेपेका देउवाका लागि सार्वजनिक छवि भएका महामन्त्रीद्वय थापा र शर्मा चुनौती बनेका छन् ।

पार्टी र सरकार सञ्चालन दुवैमा पटक पटक कमजोरी गरिरहेका देउवामाथि महामन्त्रीद्वयले प्रश्न उठाउँदा देउवा समूहले दबाब ठानेको छ । यही कारण संस्थापन समूह महामन्त्रीहरुमाथि आक्रामक देखिएको छ । यसले सभापति देउवा र महामन्त्रीबीचको सम्बन्ध थप बिग्रिएला कि फेरि सुमधुर बन्ला ? चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्