Main News

शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन सत्ता गठबन्धन सहमत

हिमालय टिभी
२०७९ असार ३१ गते १३:०३
शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन सत्ता गठबन्धन सहमत

३१ असार २०७९ काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताबीच शान्ति प्रक्रियाका बाँकी काम अघि बढाउने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउने गरी प्रक्रिया अघि बढाउने सहमति गरेको हो । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसम्बन्धी ऐनहरु संशोधन गर्ने र त्यहीअनुसार आयोगको संरचना तय गरी न्यायिक निरुपण गर्ने सहमति बनेको छ ।

बैठकपछि नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले शान्ति प्रक्रियाका बाँकी काम चाँडो सम्पन्न गर्ने गरी अघि बढाउने सहमति भएको जानकारी दिनुभयो ।

सरकारले ७ वर्षअघि नै आयोगहरु गठन गरे पनि तिनले पीडितलाई ठोस् न्याय दिन सकेका छैनन् । दुवै आयोगले काम गर्न नसकेपछि सरकारले हरेक वर्ष एकएक वर्षको समयावधि थप गर्दै आएको छ ।
दुवै आयोगको समयावधि असार मसान्तमा सकिँदैछ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेता सहभागी हुनुहुन्थ्यो ।

यसैबीच आयोगको म्याद थप र ऐन संशोधनबारे निर्णयका लागि बालुवाटारमै मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *