Main News

उपसभामुखका लागि भुसाल र भट्टराई भिड्दै

हिमालय टिभी
२०७९ असार ३१ गते ७:३९
उपसभामुखका लागि भुसाल र भट्टराई भिड्दै

३१ असार २०७९ काठमाडौं । उपसभामुख चयनका लागि आज निर्वाचन हुँदैछ। अपराह्न ३ बजे प्रतिनिधिसभामा उपसभामुखको चुनाव गर्ने कार्यतालिका छ।

उपसभामुखका लागि दुईजनाको उम्मेदवारी परेको छ। सत्तारूढ गठबन्धनले नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाललाई उठाएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ।

भुसालको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा लक्ष्मीकुमारी चौधरी हुनुहुन्छ । यस्तै, भट्टराईको प्रस्तावकमा एमाले संसदीय दलका सचेतक शान्ता चौधरी र समर्थकमा सांसद कृष्णभक्त पोखरेल हुनुहुन्छ ।

भुसाल यसअघि उपसभामुखमा पराजित हुनुभएको थियो । तत्कालीन सत्ता गठबन्धनबाट उम्मेवार बनेकी डा. शिवमाया तुम्बाहाङ्फे निर्वाचित हुनुभएको थियो । भट्टराई भने उपनिर्वाचन २०७६ मा कास्की–२ बाट निर्वाचित हुनुभएको थियो ।

आज दुवै उम्मेदवारका प्रस्तावकले दाबी प्रस्तुत गर्नेछन् र समर्थकका तर्फबाट पनि वक्तव्य दिनेछन्। छलफल सकिएपछि दर्ता क्रमअनुसार निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई मत विभाजनसहितको प्रक्रियामा अघि बढाइनेछ।

पहिलो प्रस्तावको पक्षमा नै बहुमत पुगेमा दोस्रो प्रस्तावलाई निर्णयार्थ पेश गरिने छैन। सत्ता गठबन्धनको साथ रहेका कारण भुसालको प्रस्तावका पक्षमा सहज बहुमतको अवस्था देखिएको छ।

रिक्त भएको २९ महिनापछि उपसभामुख पदपूर्ति हुन लागेको हो । २०७६ माघ ६ गते तत्कालीन उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिएपछि पद रिक्त थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *