समाज

तम्घासमा एक करोड ३३ लाखमा बनेको हाटबजार सुनसान, किसान र उपभोक्ता समस्यामा (भिडियो रिपोर्टसहित)

२०७९ असार २९ गते १७:५२
तम्घासमा एक करोड ३३ लाखमा बनेको हाटबजार सुनसान, किसान र उपभोक्ता समस्यामा (भिडियो रिपोर्टसहित)

२९ असार २०७९ गुल्मी । गुल्मी सदरमुकाम तम्घासमा एक करोड ३३ लाख ५० हजार रुपैयाँमा बनेको हाटबजार स्थल सुनसान छ। हाटबजार बन्द हुँदा किसान र उपभोक्ता दुबै समस्यामा छन् ।

विचौलियाले अत्यधिक फाइदा लिने अवस्था बनेको छ । कोरोनाका कारण बन्द भएको हाटबजार हालसम्म सञ्चालनमा आउन सकेको छैन ।

यो सुनसान स्थल । कुनै समय किसान र उपभोक्तालाई प्रत्यक्ष जोड्ने सेतु थियो । तर, आजभोलि न यहाँ किसान आइपुग्छन्, न त उपभोक्ता । कोरोनाका कारण बन्द भएको हाट बजार अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन् ।

यो झण्डै ४ वर्ष अगाडि । त्यो समयमा गुल्मीको रेसुङ्गा नगरपालिका तथा गुल्मीदरबार, इस्मा र धुर्कोट गाउँपालिका मात्र हैन अर्घाखाँचीको मालारानी र छत्रदेव गाउँपालिकाका किसान आफ्नो खेतबारीमा फलेको तरकारी, फलफूल र अन्न यहाँ बेच्न ल्याउँथे । ताजा र सस्तोमा खरिद गर्न पाउने भएपछि उपभोक्ताको बाक्लो उपस्थिति हुन्थ्यो । तर, हाटबजार चल्न छाडेपछि किसान तरकारी डोकोमा बोकेर विक्री गर्दै हिँड्न बाध्य छन् । उचित मूल्य पनि पाउन सकेका छैनन् ।

साविकको जिल्ला कृषि विकास कार्यालयको १४ लाख, जिल्ला विकास समितिको ८ लाख, जिल्ला पशुसेवा कार्यालयको १० लाख, प्रदेश सरकार र नगरपालिकासहितको कूल १ करोड ३३ लाख ५० हजार लगानीमा निर्माण गरिएको हो । हाटबजार सञ्चालन नहुँदा उपभोक्ता पनि चर्को मूल्य तिर्न बाध्य छन् ।

रेसुङ्गा नगरपालिकाले शीत भण्डारसहित हाटबजार सञ्चालन गरेको थियो । कर्मचारी खटनपटनमा समस्या र जिल्ला समन्वय समितिसँग भएको ४ वर्षको करार सम्झौता सकिएसँगै निजी क्षेत्रलाई लिजमा दिने नगरपालिकाको तयारी छ ।

तत्काल नगरपालिकाले हाटबजार सञ्चालनमा ल्याउन सके किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने र उपभोक्तालाई पनि राहत मिल्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *