गभर्नर अधिकारीमाथि छानबिन गर्न संसदमा हङ्गामा
२९ असार २०७९ काठमाडौं । गभर्नर महाप्रसाद अधिकारी एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको विषयले संसद बैठक तातेको छ ।
आजको संसद बैठकमा कांग्रेस र माओवादी केन्द्रका सांसदले अधिकारीको भूमिकामाथि प्रश्न उठाउँदै छानबिन गर्न माग गरेका हुन्। मंगलबार एमालेले जारी गरेको अन्तर पार्टी निर्देशनमा अर्थ तथा योजना विभागको दोस्रो नम्बरमा एम अधिकारी खोटाङ उल्लेख छ।
उक्त एम अधिकारी नाम गरेका व्यक्ति गभर्नर अधिकारी नै भएको दाबी गर्दै माओवादी केन्द्रकी सांसद रेखा शर्माले छानबिन गर्न माग गर्नुभएको छ ।
त्यस्तै माओवादीकै सांसद अञ्जना विशुंखेले पनि अधिकारीमाथि छानबिन गर्न माग गर्नुभएको छ । कांग्रेस सांसद मीन विश्वकर्माले जिम्मेवार पदमा बसेर गभर्नर अधिकारीले अर्थतन्त्रबारे आतंक फैलाएको आरोप लगाउनुभयो ।
अधिकारीबारे सत्ता पक्षका सांसदले दिएको अभिव्यक्तिको एमालेले भने बचाउ गरेको छ। एमाले सांसद कृष्णभक्त पोखरेलले आफ्नो भ्रष्टाचार ढाकछोप गर्नका लागि गभर्नरमाथि आरोप लागएको बताउनुभयो ।
प्रतिक्रिया