Main News

त्रिभुवन विश्वविद्यालयल : बेथितिको अखडा (भिडियो रिपोर्टसहित)

२०७९ असार २८ गते २१:३०
त्रिभुवन विश्वविद्यालयल : बेथितिको अखडा (भिडियो रिपोर्टसहित)

२८ असार २०७९ काठमाडौं । त्रिभुवन विश्व विद्यालयलमा लाखौं विद्यार्थी अध्ययन गर्छन् । लाखौं विद्यार्थीको भविष्य कोरिरहेको त्रिविको आफ्नो छवि भने विस्तारै धुमिलिँदैछ । हड्ताल र आन्दोलनको पर्याय बनेको त्रिवि अहिले बेथितिको अखडा बनेको छ ।

सोमबार हिमालय टेलिभिजन त्रिभुवन विश्वविद्यालय पुग्दा व्यवस्थापन संकायको डिनको कार्यालय र रजिस्ट्रारको कार्यालयमा नेपाल विद्यार्थी संघले ताला लगाएको थियो । उनीहरुले उपकुलपति र रजिस्ट्रारले राजीनामा दिनुपर्ने र विद्यार्थीलाई दुःख दिने काम बन्द गर्नुपर्ने भन्दै ताला लगाएका थिए ।

मंगलबार फेरि हिमालय टेलिभिजन त्रिभुवन विश्वविद्यालय पुग्यो । मंगलबार त झनै विश्वविद्यालयको उपकुलपतिको कार्यालयमै कालोपट्टी बाँधेर आमरण अनसन बसिरहेका विद्यार्थी भेटिए । उनीहरु विश्वविद्यालयमा भष्ट्राचार मौलाएको, प्राध्यापकले नपढाएको र पैसा कमाउने खेल मात्रै चलिरहेको आरोप लगाइरहेका थिए ।

विद्यार्थीसँग चर्को शुल्क लिएको, पाठ्यक्रम परिमार्जन, परिणाममुखी प्रणाली बसाउनुपर्ने, पदाधिकारी र अन्य नियुक्तिमा हुने राजनीतिक भागबण्डा अन्त्य हुनुपर्नेलगायतका माग विद्यार्थीहरुको छ । माग मात्रै होइन, सरकारी शैक्षिक संस्थालाई डुबाउने खेल भैरहेको भन्दै पदाधिकारीमाथि नैतिक प्रश्न उठाएका छन् ।

त्रिविका पदाधिकारी, अध्यापक र विद्यार्थीको यो लडाइँ आमरण अनसन र तालामा मात्रै सीमित छैन । विद्यार्थीले अध्यापकलाई नै आक्रमण गरेर यो लडाइँलाई झनै पेचिलो बनाएका छन् । त्यसैले विद्यार्थी र अध्यापकको सम्बन्धसमेत धुमिलिँदै गएको छ ।

यसैकारण त्रिविले यतिबेला नेपालकै पुरानो र ठूलो उच्च शिक्षा हासिल गर्ने शैक्षिक संस्थाको पहिचान गुमाउँदै छ । पहिचान गुमाउँदै गर्दा विद्यार्थीलाई थमथमाउनेबाहेक पदाधिकारीहरुले अरु केही गर्न नसकेको स्पष्ट देखिन्छ ।

त्रिवि यतिबेला राजनीतिको चंगुलमा बसेको छ । बेलैमा यो चंगुलबाट ननिकाल्ने हो भने त्रिविले आफ्नो अस्तित्व टुकी बालेर खोज्नुपर्ने अवस्था नआउला भन्न सकिन्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *