Main News

कांग्रेसमा नेताहरुको मर्यादाक्रम प्रस्ताव, प्रदेश सभापतिहरुले जनाए असन्तुष्टि

हिमालय टिभी
२०७९ असार २८ गते १७:२५
कांग्रेसमा नेताहरुको मर्यादाक्रम प्रस्ताव, प्रदेश सभापतिहरुले जनाए असन्तुष्टि

२८ असार २०७९ काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसमा नेताहरूको मर्यादाक्रम प्रस्ताव गरिएको छ ।

सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा मयार्दाक्रम निर्धारणका लागि मस्यौदा प्रतिवेदन प्रस्तुत गरिएको हो । प्रस्तावित मस्यौदाअनुसार मर्यादाक्रमको सबैभन्दा माथि केन्द्रीय सभापति हुने, र त्यसपछि क्रमशः पूर्वकेन्द्रीय सभापति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र संसदीय दलको नेता हुने व्यवस्था छ ।

मर्यादाक्रममा त्यसपछि पार्टीका केन्द्रीय पदाधिकारी हुनेछन् । यस आधारमा अब सभापति देउवापछि मर्यादाक्रममा उपसभापतिहरू हुनेछन् । मस्यौदाअनुसार मर्यादाक्रम लागू भए हाल सभापतिपछि वरिष्ठ नेताका रूपमा सम्मान पाइरहेका रामचन्द्र पौडेल पदाधिकारीभन्दा तल पर्नुहुनेछ ।

विगतमा महाधिवेशनमा सभापतिपछि सबैभन्दा धेरै मत ल्याउने नेतालाई सभापतिपछिको वरीयतामा राख्ने अभ्यास रहेको थियो । तर, यसपटक सभापति देउवाले सभापतिमा पराजित नेता शेखर कोइरालालाई दोस्रो नम्बरमा राख्न अस्वीकार गरेपछि मर्यादाक्रमबारे विवाद भएको थियो ।

प्रदेश सभापतिहरूले भने प्रस्तावित मर्यादाक्रममा आपत्ति जनाएका छन् । सातै प्रदेशका सभापतिहरू छुट्टै बसेर लिखित असन्तुष्टि तयार पार्न लागिएको गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले जानकारी दिनुभयो ।

प्रदेश सभापतिहरूको प्रस्तावित मर्यादाक्रम ११ नम्बरमा पुर्‍याइएको छ । केन्द्रीय सभापतिपश्चात् आफूहरू रहनुपर्ने उनीहरूको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *