समाज

उपेक्षामा संस्कृत शिक्षा, बन्द हुने अवस्थामा संस्कृत विद्यालय (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार २८ गते १४:१३
उपेक्षामा संस्कृत शिक्षा, बन्द हुने अवस्थामा संस्कृत विद्यालय (भिडियो रिपोर्टसहित)

२८ असार २०७९ हेटौंडा । बढ्दो आधुनिकता, पाश्चात्य शिक्षाको दबदबाका कारण नेपालमा संस्कृत भाषाका विद्यालयहरु बन्द हुने अवस्थामा पुगेका छन् ।

नेपाली संस्कृति जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका संस्कृत विद्यालयमा सरकारको नजर पर्न सकेको छैन । पाश्चात्य पद्धतिको शिक्षालाई महत्व दिने प्रवृत्तिले गर्दा हेटौंडाको संस्कृत विद्यालयको अस्तित्व नै संकटमा परेको छ ।

आधुनिकीकरण र बदलिँदो शिक्षा प्रणालीका बीच नेपालको पुरानो गुरुकुल अर्थात् संस्कृत वेद विद्यालयहरू ओझेलमा छन् । यसको एक उदाहरण हो बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका १० गोरक्षेस्वर तटमा रहेको संस्कृत वेद विद्यालय । २०५६ सालमा स्थापना भई निरन्तर संस्कृत पठनपाठन हुँदै आएको विद्यालयमा अहिले बिहान–बेलुका खानाको व्यवस्थापन र बटुकहरुको बसोबासमा निकै समस्या पर्दै आएको छ ।

यस विद्यालयमा हाल २४ जना विद्यार्थी अध्ययनरत् छन् । कक्षा ४ देखि ८ सम्म पढाई हुने यहाँ विद्यार्थीलाई खाना र बसोबासका लागि दाताहरुको सहयोगमा भरपर्नुपर्ने अवस्था छ । सरकारी विद्यालय भएपनि सरकारी निकायबाट कुनै सहयोग नहुँदा विद्यालयको अवस्था निकै दयनीय बनेको हो ।

प्रचीनकालदेखि चलिआएको संस्कृत शिक्षा र यस्ता विषय पढाई हुने विद्यालयप्रति सरकारले चासो नदेखाउँदा वेद विद्यालय रोज्ने र अध्ययन गर्ने बटुकहरुले न राम्रो शिक्षा पाइरहेका छन् न विद्यालयबाट पाउने सेवा सुविधानै पाउने गरेका छन्। संघीय, प्रदेश र स्थानीय कुनै पनि सरकारले संस्कृत विद्यालयलाई स्तरीय बनाउन चासो देखाएका छैनन् ।

सरकारले बजेट नछुट्याउँदा अध्ययनका लागि आउने विद्यार्थीलाई समेत फिर्ता पठाउनुपर्ने बाध्यता विद्यालयले भोगिरहेको छ । विद्यालयमा संस्कृत भाषा, कर्मकाण्ड र पूजापाठसँगै सामाजिक, अंग्रेजी, गणितलगायतका ८ विषय पढाइ हुँदै आएको छ । जिल्लाको एक मात्र संस्कृत विद्यालयमा निजी स्रोतका ३ जना शिक्षक मात्र छन् । संस्कृत विषयका लागि २ जना शिक्षकको दरबन्दी भएपनि हालसम्म सरकारले शिक्षक पदपूर्ति गर्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *