Main News

ओली-प्रचण्डलाई मिलाउने कसरतमा चिनियाँ प्रभावशाली नेता, नेपालमा चीन किन असफल?(भिडियो रिपोर्टसहित)

२०७९ असार २७ गते २१:३२
ओली-प्रचण्डलाई मिलाउने कसरतमा चिनियाँ प्रभावशाली नेता, नेपालमा चीन किन असफल?(भिडियो रिपोर्टसहित)

२७ असार २०७९ काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच २०७४ मा चुनावी गठबन्धन र २०७५ मा पार्टी एकीकरण नै भयो । अनपेक्षित रुपमा भएको गठबन्धन र त्यसपछिको पार्टी एकीकरण तीन वर्ष पनि टिक्न सकेन । तर एमाले र माओवादीबीचको गठबन्धन टिकाउन चीनले राम्रै प्रयास गरे पनि असफल बन्यो । यतिबेला चीन पुनः एमाले, माओवादीसहितका वाम घटकहरु मिलाउन सक्रिय बनेको चर्चा छ ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विवाद शुरु भएदेखि नै चीनले विभिन्न माध्यमबाट विवाद साम्य पार्ने प्रयास जारी राख्यो । यो प्रयासमा असफल भएको चीन नेकपा मात्र होइन एमाले नै फुट्दासमेत फुट्न नदिने हदैसम्मको प्रयासमा जुट्यो ।

चुनावी गठबन्धनसँगै पार्टी नै एकीकरण गरेर दुई तिहाई मतसहितको सरकार चलाएको वाम पार्टी पानीको थोपा जस्तै भएर जाँदा पनि चीनले वाम शक्तिहरु एक हुनुमै जित हुन्छ भन्ने सन्देश बारम्बार नेताहरुकहाँ पुर्‍याइरहेको छ ।

पछिल्लो केही समययता चिनियाँ कम्युनिष्ट पार्टीका नेता मात्र होइन, विदेश मन्त्रीसमेतले नेपाल भ्रमण तथा कम्युनिष्ट नेताहरुसँग पटकपटक भर्चुअल संवाद गरेका छन् । नेपालमा संघ र प्रदेश सभाको चुनावी चर्चा शुरु भएपछि त चिनियाँ नेताहरुको नेपाली कम्युनिष्ट नेताहरुको घरमा असारे देउसी नै भइरहेको टिप्पणी हुन थालेको छ । यतिबेला चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ चिआनचाओ नेपाली नेताहरुको घरदैलोमा हुनुहुन्छ । उहाँको घरदैलोपछि प्रश्न उठेको छ, के चीनले चाहँदैमा वाम गठबन्धन या पार्टी एकता सम्भव छ त ?

नेपालमा चीनको चाहनाविपरीत एमसीसी पारित हुनु, नेकपा विभाजन हुनु, कम्युनिष्ट पार्टीको सरकार ढल्नुजस्ता कुराले पछिल्लो समय नेपालमा चीन नीति असफल भएको प्रष्ट बुझ्न सकिन्छ । यसमाथि एसपीपी प्रकरण र प्रधानमन्त्री शेरबहादुर देउवाको सम्भावित अमेरिका भ्रमण पनि चिनियाँ चासोभित्र पर्छन्।

छिमेकी देशका नेताहरुको भ्रमणलाई सद्भावना भ्रमणका रुपमा मात्रै पनि व्याख्या गर्न सकिन्छ । तर कुनै सरकारी निमन्त्रणाभन्दा पनि एकतर्फी रुचिले भइरहेका भ्रमणमा छिमेकी सम्बन्धभन्दा बढी नेपालको आम निर्वाचनमा वाम मोर्चा निर्माणको महत्वाकांक्षा बढी देखिन्छ । यद्यपि नेपालका कम्युनिष्ट नेताहरू भने चीनले चाहँदैमा नेपालका वाम पार्टीहरुलाई जोड्न नसक्ने जिकिर गर्छन् ।

२०७४ मा वाम गठबन्धन र पछि पार्टी एकीकरणपश्चात् ४२ महिनासम्म एकछत्र शासन गरेको कम्युनिष्ट नेतृत्वको सरकार ढलेपछि चिनियाँ अधिकारीको नेपाल भ्रमण थप बाक्लो भएको हो । त्यसो त केपी शर्मा ओली नेतृत्वको सरकारकै पालामा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले चीनका लागि नेपालमा कम्युनिष्ट सरकार कति महत्वपूर्ण छ भन्ने कुरालाई थप पुष्टि गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *