Main News

नेपालको अर्थतन्त्र : के नेपाल श्रीलंकाको बाटोमा छ ? (भिडियो रिपोर्टसहित)

२०७९ असार २७ गते २१:१४
नेपालको अर्थतन्त्र : के नेपाल श्रीलंकाको बाटोमा छ ? (भिडियो रिपोर्टसहित)

२७ असार २०७९ काठमाडौं । श्रीलंकाको राजनीतिमा आएको उथलपुथलले सडकदेखि सामाजिक सञ्जालसम्म अर्थतन्त्रबारेको बहस चर्किएको छ। श्रीलंकाको अर्थतन्त्रको आकार नेपालभन्दा करिब दोब्बर ठूलो छ । नेपालभन्दा ठूलो अर्थतन्त्र भएको श्रीलंकामा अहिले इन्धन, खाद्यान्न र औषधिलगायतका अत्यावश्यक वस्तुसमेत आयात गर्नै नसक्ने अवस्था कसरी आयो ? के नेपाल पनि श्रीलंका पथमा जाँदैछ ?

श्रीलंकाले केही महिनादेखि स्वतन्त्रतायताकै सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको छ । श्रीलंकामा हाल इन्धन, औषधि, खाद्यान्नलगायत अत्यावश्यक सामग्री खरिद गर्ने विदेशी मुद्रा नहुँदा यी सामग्रीहरुको समेत चरम अभाव छ । इन्धन आपूर्ति लगभग ठप्प छ । दैनिक उपभोग्य वस्तुको भाउ आकासिएका कारण जनजीवन निकै कष्टकर बन्दै गएको छ ।

श्रीलंकाको यो संकटलाई देखाएर अर्थतन्त्रका जानकार र सरकारी अधिकारीहरुले समेत नेपाल पनि श्रीलंका बन्ने चेतावनी दिने गरेका छन् । श्रीलंकामा हाल देखिएको समस्याको प्रमुख कारण विदेशी मुद्रा अभाव नै हो । पछिल्लो समय नेपालमा पनि विदेशी मुद्राको सञ्चिति घट्दै गएको छ । नेपाल र श्रीलंकाको अर्थतन्त्रको अवस्था कस्तो छ ?

– श्रीलंकामा विदेशी मुद्राको सञ्चिति रित्तिएको छ। तर नेपालमा अहिले पनि ९ अर्ब २८ करोड अमेरिकी डलर सञ्चिति छ। यसले ६ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न सक्छ ।
–श्रीलंकामा मुद्रास्फीतिको दर ७० प्रतिशत नाघेको छ । नेपालमा उपभोक्ता मुद्रास्फीति ७ दशमलव ८७ प्रतिशत र थोक मुद्रास्फीति १६ दशमलव ०६ प्रतिशत छ ।
– श्रीलंकाको विदेशी ऋणभार ६० अर्ब डलर हाराहारी छ । यो कुल गार्हस्थ उत्पादनको करिब शतप्रतिशत हो । नेपालमा कुल गाहैस्थ उत्पादनको ४२ प्रतिशत अर्थात १७ खर्ब २८ अर्ब रुपैयाँ ऋण छ ।

श्रीलंकामा कुल ऋणमध्ये २८ अर्ब डलर सन् २०२७ र ७ अर्ब अमेरिकी डलर बराबरको कर्जा २०२२ भित्रै चुक्ता गर्नुपर्ने छ । तर नेपालमा कर्जा चुक्ताको दबाब छैन् । नेपालले विभिन्न दातृ निकायबाट ९ खर्ब ४८ अर्ब वैदेशिक ऋण लिएको छ । यसैगरी देशभित्रबाट सरकारले ७ खर्ब ७९ अर्ब रुपैयाँ ऋण लिएको छ । पछिल्लो ४ वर्षमा नेपाल सरकारको कर्जा दोब्बर भए पनि सरकारी राजस्वले साँवा र ब्याज तिर्न समस्या छैन ।

यी केही तथ्यले नै पुष्टि गर्छ, नेपाल र श्रीलंकाको समस्या एउटै प्रकृतिको होइन । तर नेपालको शासकीय कार्यशैली भने श्रीलंकाको जस्तै भएकाले मनोवैज्ञानिक त्रास बढेको मात्र हो ।

अहिले नेपालको अर्थतन्त्रमा प्रमुख तीन कारण बढ्दो आयात, महंगी र घट्दो विदेशी विनिमय सञ्चितिका कारण दबाब परेको छ। तर आयातमा उच्च वृद्धिका कारण विदेशी मुद्राको सञ्चिति निरन्तर घटिरहेकाले त्यसमा तत्काल सुधारका प्रयास नथाल्ने हो भने श्रीलंकाकै अवस्था हुनबाट रोक्न सक्ने अवस्था छैन ।

श्रीलंकामा आर्थिक संकट आउनुमा मुख्य गरी तीन वटा विषयले काम गरेको छ । पहिलो श्रीलंकाली सरकारले अनावश्क रूपमा विदेशी ऋण लिएर पूर्वाधार निर्माण गर्नु, दोस्रो नचाहिँदो रूपमा करका दरमा परिवर्तन गर्नु र पर्यटन व्यवसाय खस्कनु हो । यसकारण नेपाल र श्रीलंकाको समस्याको प्रकृति एउटै नभएकाले सरकारले विदेशी मुद्राको सञ्चितिमा देखिएको चाप कम गर्ने हो भने हालको समस्या हल हुने विश्वास गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *