Main News

आज विश्व जनसङ्ख्या दिवस, नेपालमा पनि मनाइँदै

हिमालय टिभी
२०७९ असार २७ गते ९:३१
आज विश्व जनसङ्ख्या दिवस, नेपालमा पनि मनाइँदै

२७ असार २०७९ काठमाडौं । आज विश्व जनसङ्ख्या दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

यस वर्षको विश्व जनससंख्या दिवस ‘आठ अर्ब जनसङ्ख्या सबैको छनोट र अधिकारको सुनिश्चिततासहित उज्ज्वल भविष्यका लागि अवसरको प्राप्ति’ नाराका साथ मनाइँदै छ । सन् १९८९ देखि संयुक्त राष्ट्र सङ्घले ११ जुलाईलाई विश्व जनसङ्ख्या दिवसका रूपमा मनाउन थालेको हो ।

नेपालमा पनि सोही वर्षदेखि मनाइँदै आएको छ । विश्व जनसङ्ख्या कोषले आज सार्वजनिक गरेको ‘वल्र्ड पपुलेसन प्रोस्पेक्टस २०२२’ अनुसार विश्वको जनसङ्या सन् २०८० को दशकमा करिब १० दशमलव ४ अर्बसहित उच्च बिन्दुमा पुग्ने र सन् २१०० सम्म त्यही स्तरमा रहनेछ ।

औसत आयुमा भएको वृद्धि तथा घट्दै गएको शिशु तथा मातृ मृत्युदरका कारण जनसङ्ख्या पहिलेभन्दा धेरै भएको विश्लेषण गरिएको छ । कोषका अनुसार विश्वको जनसङ्ख्या सातदेखि आठ अर्बसम्म पुग्न १२ वर्ष लागेको र ६ देखि ७ अर्ब पुग्न पनि उत्तिकै समय लागेको थियो ।

अहिलेको वृद्धिदरलाई हेर्दा अब अर्को अर्ब थपिन भने करिब साढे १४ वर्ष लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालमा अहिले दुई करोड ९१ लाख ९२ हजार ४८० जनसङ्ख्या छ ।

आगामी कात्तिकभित्र जनगणनाको पूर्ण विवरण आउँदा करिब तीन लाख जनसङ्ख्या थपिएर र नेपालको जनसङ्ख्या दुई करोड ९४ लाख पुग्ने अनुमान गरिएको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *