भावी रणनीति तय गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

२७ असार २०७९ काठमाडौं । भावी रणनीति तय गर्न नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो एक बजे बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र आगामी रणनीति तय हुने छ । स्थानीय तह निर्वाचनपछि पहिलो पटक कांग्रेसको बैठक बस्न लागेको हो ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने छ । त्यसपछि आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रणनीति बनाउने तयारी छ ।
आज स्थानीय तह निर्वाचनको अनुभवसहित रिपोर्टिङ हुने र त्यसकै आधारमा भविष्यको बाटो पनि तय गरिने महतको भनाइ छ । आगामी निर्वाचनमा पनि सत्ता गठबन्धनलाई निरन्तरता दिने बताउँदै महतले त्यसबारे पनि बैठकमा छलफल गर्ने बताउनुभयो ।
बैठकमा डा. शेखर कोइराला पक्षले भने सभापति शेरबहादुर देउवाको कार्यशैली र सरकारको कामकारबाहीको विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।
कोइराला पक्षका नेताहरुको हिजोको बैठकले पार्टी नेतृत्व विधानविपरीत चलेको र सरकारमाथि भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै यही विषय बैठकमा उठाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया