Main News

ओली-प्रचण्डलाई मिलाउन चीनका प्रभावशाली कम्युनिष्ट नेताको दौडधुप (भिडियो रिपोर्टसहित)

२०७९ असार २६ गते २०:३१
ओली-प्रचण्डलाई मिलाउन चीनका प्रभावशाली कम्युनिष्ट नेताको दौडधुप (भिडियो रिपोर्टसहित)

२६ असार २०७९ काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान चाओ चार दिने नेपाल भ्रमणका लागि आइतबार बिहान काठमाडौं आइपग्नुभएको छ । केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भिडियोमार्फत कुराकानी गरेका चाओको नेपाल भ्रमणलाई वाम एकताको प्रयासका रुपमा हेरिएको छ ।

स्थानीय तह निर्वाचनपछि वाम गठबन्धनको डम्फू बजिरहेका बेला चिनियाँ कम्युनिष्ट पार्टीका शक्तिशाली नेताको चार दिनसम्म हुन लागेको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । आगामी संघ र प्रदेशसभाको निर्वाचनलाई दृष्टिगत गर्दै नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका कम्युनिष्ट घटकबीच सके एकीकरण नत्र चुनावी गठबन्धनको अनौपचारिक छलफल चलिरहेका बेला चाओको आगमनलाई वाम गठबन्धनको सेतुका रुपमा अर्थ्याउनु स्वाभाविक नै होला ।

आसन्न निर्वाचनलाई दृष्टिगत गर्दै चाओको भ्रमणलाई वाम गठबन्धन गराउने चिनियाँ कसरतकै रुपमा हेरिएको छ । उता चाओको नेपाल भ्रमणकै पूर्वसन्ध्यामा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाम शक्तिबीच एकता या सहकार्य हुनसक्ने बताउँदा ‘बाघ कराउनु र बाख्रा हराउनु’ जस्तै हो कि भन्न थालिएको छ ।

केही दिनअघि विदेश विभाग प्रमुख चाओ र उपप्रमुख चेन झोउ लगायतका नेताले ओली र प्रचण्डसँग छुट्टाछुट्टै भर्चुअल संवाद गर्नुले पनि चीनले नेपालका कम्युनिष्टलाई माइक्रो म्यानेजमेन्ट गर्न खोजेको प्रतीत हुन्छ ।

२०७४ सालमा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन र पछि पार्टी एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भनिएको चीनले नेकपा विभाजनलाई रोक्न नसके पनि फेरि जोड्ने प्रयास गर्नुलाई चीन फेरि पनि नेपालका कम्युनिष्टहरूलाई एकैठाउँमा उभ्याउन चाहन्छ भन्ने कुरा हत्केलाले छोप्न खोजे पनि घामझैँ छर्लङ्ग हुन्छ । तर, एमाले नेताहरू भने आफूहरूले चाहेमा मात्रै नेपालका कम्युनिष्टबीच सहकार्य वा एकता हुनसक्ने बताउँदै चीनको चाहना वा सक्रियताले कुनै प्रभाव नपार्ने दाबी गर्छन् ।

२०७४ सालपछि ४२ महिनासम्म नेपालमा कम्युनिष्ट नेतृत्वको सरकार रह्यो । चीनको चाहनाविपरीत त्यो सरकार ढलेपछि चिनियाँ अधिकारीको नेपाल भ्रमण झनै बाक्लिएको देख्न सकिन्छ । त्यसैले पनि काठमाडौंमा चिनियाँ उच्च अधिकारीहरूको सक्रियताले भारतले जस्तै चीनले पनि नेपालको आन्तरिक मामिलामा ‘माइक्रो म्यानेजमेन्ट’ गर्न खोजेको बहस राजनीतिक र कूटनीतिक वृत्तमा हुन थालेको छ ।

‘हावा नचली पात हल्लिँदैन’ भन्ने उक्ति नेपालका कम्युनिष्ट नेताहरूको बोली र व्यवहारबाटै बुझ्न सकिन्छ । नेकपाभित्र चर्किएको कचिङ्गल मिलाउन नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता, पुनः वाम एकता वा गठबन्धनका लागि देखाएको चासो, नेपालमा कम्युनिष्ट पार्टीलाई बलियो बनाएर सम्भव भएसम्म लामो समय सहकार्य गर्ने चिनियाँ नीति रहेको सत्य पछिल्लो घटनाक्रमले पनि प्रष्ट हुन्छ ।

नेपालका वामपन्थीहरूबीच विग्रह आएपछि आफूलाई झट्का लागेको चीनको बुझाइ छ । पछिल्लो समय नेपालमा चीनको ध्यान तान्ने गरी तीनवटा घटना भए । एउटा कम्युनिष्ट पार्टी फुट्यो, दोश्रो कम्युनिष्ट पार्टीको सरकार ढल्यो र तेस्रो एमसीसी पास भयो । यसलाई चीनले सामान्यरूपमा लिएको छैन । त्यसैले नेपालका कम्युनिष्ट पार्टीहरूसँगको संवादलाई चीनले तिव्रता दिएको देख्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *