Main News

राजनीतिमा परिवारवाद : उपलब्धि तहसनहस हुने खतरा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार २६ गते २०:२६
राजनीतिमा परिवारवाद : उपलब्धि तहसनहस हुने खतरा (भिडियो रिपोर्टसहित)

२६ असार २०७९ काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले आफ्ना आमाबुवाको नाममा ट्रस्ट स्थापना गरी लाखौं रुपैयाँ बजेट बिनियोजन गरेपछि तीव्र आलोचना भैरहेको छ ।

मुख्मयन्त्री र मन्त्रीले आफ्ना आमाबुवाको नाममा मात्र होइन विभिन्न पार्क र ट्रस्टका नाममा पनि राज्यकोषको दुरुपयोग गर्ने प्रयत्न गर्नुभएको छ । सरकारको नेतृत्व गर्नेहरुको यो चरित्रले मुलुकमा कुन हदसम्मको बेथिति हुन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ ।

दशकौंयता श्रीलंकाको राज्यसत्तामा मौलाएको परिवारवाद र नातावादका कारण श्रीलंका टाट पल्टिएको छ भने राजनीतिक संकट गहिरो बन्दै गएको छ । श्रीलंकाको अवस्थाबाट नेपालले पनि पाठ सिक्नुपर्ने भन्दै अहिले विज्ञहरुले सुझाव दिइरहेका छन् । तर नेपालका नेताहरुले श्रीलंकाबाट जुन पाठ सिक्नुपर्ने हो त्यो सिकिरहेका छैनन् भने जुन पाठ सिक्नु नपर्ने हो त्यसैलाई अपनाइरहेका छन् । श्रीलंकाको राजापक्षे परिवारजस्तै नेपालका राजनेताहरु राजनीतिमा जबरजस्त परिवारवाद स्थापित गर्न खोजिरहेका देखिन्छन् ।

संघीय सरकारमा हुँदै आएको यो अभ्यास गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्ना बाबु आमाको नामको ट्रष्टलाई पैसा खन्याएर सुरुवात गर्दै हुनुहुन्छ । यसमा सोही प्रदेशका सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ मतियार बन्दै हुनुहुन्छ । दुवैले आफ्ना बुवा आमाको नाममा ट्रस्ट स्थापना गरी पचास–पचास लाख विनियोजन गर्नु भएको छ ।

नेपालमा सत्तामा बसुञ्जेल भ्रष्टाचार र कमिशनमा डुब्ने र सत्ताबाट बाहिरिएपछि पनि विलासी जीवनको सुनिश्चितताका लागि ट्रस्ट र फाण्डेशन खोल्ने प्रतिस्पर्धा नै देखिएको छ । मृत्यु भएका नेता, नेताका आमाबुवा तथा आफन्तहरुको नाममा मात्रै नभएर आफैं जीवित भएको अवस्थामा समेत ट्रस्ट खोल्ने प्रवृत्ति झाँगिदै गएको छ । त्यसको उदाहरण पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वयंम हुनुहुन्छ ।

उहाँ जीवितै हुँदा नै ट्रस्ट स्थापना गरिएको छ भने केपी ओली सरकारले उहाँको ट्रस्टलाई सर्प पालनका लागि भन्दै करोडौं बजेट विनियोजन गरेको थियो । केपी ओली आफैले आफ्नो नामको ट्रष्टमा कानूनले तोकेभन्दा बढी जग्गा राखेको भन्दै विरोधका आवाज उठिसकेका छन् ।

त्यसो त नेपालमा यस्तो दिवंगत नेता पाउन मुश्किल छ जस्को नाममा ट्रस्ट नखोलिएको होस् । बीपी कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, सुष्मा कोइराला, सुशील कोइराला, पुष्पलाल, मदन भण्डारी लगायतका नेताहरुको नाममा ट्रस्ट स्थापना गरिएको छ र यी ट्रस्टको नाममा सरकारबाट वर्षेनी करोडौं बजेट विनियोजन हुँदै आएको छ ।

माओवादी नेताका नाममा पनि दर्जनौं ट्रस्ट खोलिएका छन् । पोष्टबहादुर बोगटी, कृष्णसेन इच्छुक लगायतका नेताका नाममा प्रतिष्ठान स्थापना गरिएको छ । नेताहरुको नाम बेच्ने र उनीहरुका परिवारका सदस्यले विलासी जीवन जिउने अनि नागरिकले खाई–नखाई तिरेको करमा रजाई गर्ने गरेको विश्लेषक पुरञ्जन आचार्य बताउनु हुन्छ ।

ट्रस्ट वा प्रतिष्ठानहरु सामाजिक कामका लागि स्थापना गरिन्छ र समुदायबाटै स्वतस्फूर्त रुपमा सहयोग जुटाएर समुदायकै हितमा खर्च गरिन्छ । तर नेपालमा भने च्याउँ उम्रिए जस्तै ट्रस्ट स्थापना गर्ने, एनजीओ खोल्ने र राज्यकोषको दुरुपयोग गरी हालीमुहाली गर्ने प्रवृति देखिएको छ । व्यक्तिका नाममा ट्रस्ट स्थापना गरेर करमा रजाई गर्ने प्रवृति भ्रष्टाचारको नाँगो नाँच भएको विश्लेषक आचार्यको भनाइ छ ।

ट्रस्टको नाममा आउने बजेटले परिवारका मान्छेहरु घुमघाम गर्ने, गाडी चढ्ने, गरगहना जोड्ने वा विलासी जीवन विताउने प्रवृत्ति देखिएको छ । ट्रस्टका नाममा मौलाउँदै गएको विकृति रोक्न सकिने भए पनि सबै दल निकट नेता वा उनीहरुका परिवार कुनै न कुनै रुपमा ट्रस्टमा जोडिएकाले समस्या थप बढ्दै गएको देखिन्छ । देशको अर्थतन्त्र धरासायी बनिरहेको यस्तो अनुत्पादक क्षेत्रमा भइरहेको अनियन्त्रित खर्च नरोकिए मुलुक कता जाला ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *