Main News

किन टुंगो लाग्न सकेको छैन प्रधानमन्त्रीको अमेरिका भ्रमण ? यस्तो रहेछ डरलाग्दो ३ शर्त (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार २६ गते २०:२०
किन टुंगो लाग्न सकेको छैन प्रधानमन्त्रीको अमेरिका भ्रमण ? यस्तो रहेछ डरलाग्दो ३ शर्त (भिडियो रिपोर्टसहित)

२६ असार २०७९ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रमणको तयारीमा हुनुहुन्छ । जीवनको पाँचौं पटक प्रधानमन्त्री बनेका देउवा अमेरिकासँग नजिकको साइनो स्थापित गर्ने प्रयत्नमा हुनुहुन्छ । तर, उहाँको भ्रमण तय हुनुअघि अमेरिकाले तीन विकल्पसहितका शर्त अघि सारेको छ । अमेरिकी शर्त सैन्य रणनीतिसँग जोडिने गरी आएपछि प्रधानमन्त्रीको अमेरिका भ्रमण टुंगो लाग्न सकेको छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिका भ्रमण गर्ने तीव्र इच्छा छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालय देउवाको भ्रमण गराउने पहलमा जुटिरहेको पनि छ । तर, चर्चाको दुई महिना बितिसक्दा पनि अमेरिकाबाट भ्रमणको ‘ग्रिन सिग्नल’ प्राप्त भएको छैन । परराष्ट्र र सैन्य स्रोतले प्रधानमन्त्रीको भ्रमण टुंगो नलाग्नुमा अमेरिकी शर्त प्रमुख कारण रहेको बताउँदै आएको छ ।

अमेरिकाले राखेका विकल्पसहितका ३ शर्त–

–स्टेट पार्टनरशिप प्रोग्राममा सहभागी हुनुपर्ने
–स्टाटस अफ फोर्स एग्रिमेन्टमा भाग लिनुपर्ने
–म्युचल डिफेन्स ट्रिटी मान्नुपर्ने

यी तीनै विकल्प सेनासँग जोडिएका छन् । स्टेट पार्टनरशिप प्रोग्राम एसपीपीमा नेपालले भाग नलिने असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकबाट निर्णय भयो । निर्णयको जानकारी गृहमन्त्री बालकृष्ण खाणले संघीय संसदको राष्ट्रियसभामा गराइसक्नु भएको छ ।

अमेरिकाले एसपीपीमा भाग नलिने नेपालको चाहनाबारे जानकारी रहेको बताए पनि दबाब दिन छोडेको छैन । देउवा नेतृत्वको सरकार आन्तरिक दबाबमा परेको बुझाइमा रहेको अमेरिकाले थप दुईवटा विकल्प अगाडि सारेको छ । एसपीपीपछि अमेरिकाले स्टाटस अफ फोर्समा सामेल हुनुपर्ने शर्त राखेको छ ।

के हो स्टाटस अफ फोर्स एग्रिमेन्ट ?
अमेरिका र उसँग सैन्य सहकार्य गर्ने अर्को राष्ट्रबीचको सम्झौता नै स्टाटस अफ फोर्स एग्रिमेन्ट (सोफा) हो । यसमा एकअर्काबीच सैन्य सहयोग आदान–प्रदान हुन्छ । सोफाले एउटा देशको सुरक्षा व्यवस्थामा समर्थन गर्दै विदेशी कर्मचारी र विशेषाधिकार सुनिश्चित गर्छ । अर्थात् नेपालले सोफा सम्झौता गरे अमेरिकी सेनाको उपस्थितिलाई बलियो बनाइदिन्छ । अमेरिकाले राखेको यो शर्तले नेपाल अमेरिकी सैन्य नेतृत्वमा पुग्ने बाटो खुल्छ ।

अमेरिकासँग सोफा सम्झौता भएका देशहरु
जापान, दक्षिण कोरिया, बहमास, ग्वाटेमाला, रुवाण्डा, नेदरल्याण्डस् आदि

यो शर्त पनि नमाने अमेरिकाले तेस्रो विकल्पका रुपमा म्युचल डिफेन्स ट्रिटी (एमडीटी) अघि सारेको छ ।

के हो म्युचल डिफेन्स ट्रिटी ?
यो ट्रिटी स्टाटस अफ फोर्स एग्रिमेन्ट सोफा जस्तै हो । प्यासिफिक क्षेत्रमा आफ्नो वर्चश्व कायम गर्न अमेरिकाले यो ट्रिटी गरेको छ । कुनै पनि देशले अमेरिकासँग यो सन्धी गरे अमेरिकी सैन्य बल स्वतन्त्ररुपमा त्यस देशमा प्रवेश गर्न सक्छ । यो सन्धी भएको देशमा बाह्य आक्रमण भए वा संवैधानिक संकट आए अमेरिकी सैन्य बल सहजै प्रवेश गरेर हस्तक्षेप गर्ने प्रावधान राखिएका छन् ।

अमेरिकाले दक्षिण कोरिया, फिलिपिन्स लगायत एसिया प्यासिफिक क्षेत्रका देशहरुसँग यो सन्धी गरेको छ।

एमसीसी पारित भएसँगै अमेरिकी सेना नेपालमा भित्रिने अड्कलबाजी भइरहँदा अमेरिकाले पछिल्लो समय प्रस्ताव गरेका सैन्य रणनीतिका शर्तहरु सामान्य खालका छैनन् । असार १३ गतेदेखि १७ गतेसम्म प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणका क्रममा समेत यी विकल्पहरुकाबारेमा अमेरिकाले प्रस्ताव गरेको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *