Main News

रोपियो घर–घरमा कीटाणुनाशक तुलसी

२०७९ असार २६ गते १६:४७
रोपियो घर–घरमा कीटाणुनाशक तुलसी

२६ असार २०७९ काठमाडौं । तुलसी कीटाणुनाशक भएकाले घरको मूलढोकामा हावा आउने गरी मठ बनाएर रोप्ने वैदिक सनातनी हिन्दू परम्परा छ । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राखिन्छ ।

आषाढ शुक्ल एकादशीका दिन दलबाट घर–घरको तुलसीको मठमा बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु भएको छ । आयुर्वेद क्षेत्रमा लामो समय काम गर्दै आउनुभएका प्रा डा चन्द्रराज सापकोटा वैज्ञानिक र औषधीय गुणलेयुक्त भएकैले हाम्रा पिता पूर्खाले घर–घरमा यसको मठ बनाएर पूजा आराधनाको रीत बसालेको बताउनुहुन्छ । औषधीय गुणलेयुक्त तुलसीबाट आफू सिंहदरबार वैद्यखाना विकास समितिको प्रबन्ध निर्देशक भएका बेला २०५५ सालमा चिया उत्पादन गरेको उहाँले सुनाउनुभयो ।

“तुलसीको चियाले मानव शरीरभित्रका कीटाणु नाश गरी स्वस्था बनाउने भएकाले दैनिक सेवन गर्नु फलदायी हुन्छ, कोरोना महामारी तीव्र भएका बेला तुलसी, सुठो, पिप्ला, मरिच, त्रिकटुलाई काँडा पानी बनाएर पिउँदा कोरोना ठीक भएको छ”–प्रा डा सापकोटाले भन्नुभयो ।

हाम्रा वनस्पति र खाद्यान्न स्वास्थ्यसँग सम्बन्धित छन् । अमृतासमेत भनिने गुर्जो धेरै रोगका लागि लाभदायक रहेको उहाँ बताउनुहुन्छ । सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ ।

एक वर्षमा २४ एकादशी पर्छन् । कोहीले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । कसैले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लागेको छ । चतुर्मासाभर देशभरका नारायण मन्दिरमा भक्तजनको विशेष भीड लाग्ने गरेको छ ।

एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ । वैज्ञानिक रुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमासमेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ ।

वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यतासमेत छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्यसमेत वैज्ञानिक रुपमा पुष्टि भएको छ ।

चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट पूजा आराधनासहित चतुर्मासा व्रतको उद्यापन गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

यो पनि पढनुहोस्