Main News

यमबुद्धको शालिक : विवादमा काठमाडौंका मेयर बालेन (भिडियो रिपोर्टसहित)

२०७९ असार २५ गते २०:२९
यमबुद्धको शालिक : विवादमा काठमाडौंका मेयर बालेन (भिडियो रिपोर्टसहित)

२५ असार २०७९ काठमाडौं । ठूला राजनीतिक दलका नेताहरुले जनताको मुद्दाभन्दा आफन्त र नजिककालाई पोस्ने गरेको आरोप लाग्दै आएको छ । नेताहरुको त्यस्तै हर्कतको वितृष्णाका उपज काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको जित हो । तर, मेयर बालेन्द्र शाह पनि फरक देखिनुभएन ।

काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७९–८० को बजेटमार्फत र्‍याप गायक यमबुद्धका नामले चिनिने अनिल अधिकारीको शालिक बनाउने घोषणाको चौतर्फी आलोचना भएको छ । विरोध चर्किएपछि मेयर शाहले आफ्नै तलबबाट शालिक बनाउने बताउनुभएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि मात्र आफ्ना पुत्र प्रकाश दाहालको शालिक अनावरण गर्नुभयो । प्रकाशले देशका लागि के गरेका थिए र उनको शालिक भन्दै चौतर्फी आलोचना भयो ।

दलका नेताहरुको यस्तै हर्कतले काठमाडौंबासीले स्वतन्त्र उम्मेदवार बालेन शाहलाई मेयरमा जिताए । तर, मेयर शाहले पनि प्रचण्डपथ नै पच्छ्याउनु भएको छ । जीवनसँग हार मानेर आत्महत्याको बाटो रोजेका र्‍याप गायक यमबुद्धको शालिक बनाउने मेयर शाहको घोषणाले प्रचण्डलाई माथ खुवाउने अवस्था आएको छ ।

यहाँ सम्बन्धभन्दा पनि शालिक बनाउनैपर्ने उनीहरुको योगदान के हो भन्ने प्रश्न उठेको छ । यमबुद्ध भनेर चिनिने अनिल अधिकारीले विक्रम सम्वत २ हजार ७३ सालमा बेलायतमा आत्महत्या गरेका थिए । मेयरमा निर्वाचित भएपछिको शाहले ल्याएको पहिलो बजेटमै १५ लाख खर्च गरेर यमबुद्धको शालिक बनाउने निर्णय विवादित बनेको छ । धेरैले शाहको निर्णयको कडा आलोचना गरेका छन् ।

महानगरका समस्या एकातिर मेयर शाहको प्राथमिकता अर्कातिर भन्दै शालिक बनाउने निर्णयको विरोध भैरहेको छ । आफ्नो विरोध भएपछि मेयर शाहले आफ्नै तलबबाट भएपनि यमबुद्धको शालिक बनाइ छाड्ने बताउनु भएको छ ।

शनिबार स्वर्गीय यमबुद्धका आमा बुवालाई भेटेपछि सामाजिक सञ्जालमार्फत आफ्नो तलब खर्च गरेर भएपनि यमबुद्धको शालिक बनाउने बताउनु भएको हो । आफ्नो तलबबाट शालिक बनाउने बताए पनि उहाँलाई ‘सार्वजनिक स्थानमा नभएर आफ्नो घरको छतमा लगेर शालिक राख्न’ कतिपयले सुझाव दिएका छन् ।

देश र जनताका लागि खासै उल्लेखनीय योगदान नभएका व्यक्तिको शालिक बनाउनुभन्दा मूर्ति बनाएर घरमा राख्न कतिपयले मेयर शाहलाई सुझाव दिएका छन् । महानगरपालिका र जनताको मागभन्दा पनि मेयर साहको व्यक्तिगत इच्छामा यमबुद्धको शालिक बनाउने निर्णय भएको महानगरपालिकाका जनप्रतिनिधिहरुले बताएका छन् ।

बैठकमा शालिक बनाउने विषयमा खासै छलफल नै नभएको यमबुद्ध काठमाडौंमा रहँदा बस्दै आएको मैतीदेवी अर्थात काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडा अध्यक्ष कुश ढकालले जानकारी दिनुभयो ।

महानगरपालिकामा महंगो शिक्षा, स्वास्थ्य र खानेपानी, फोहरलगायतका समस्या समाधानतिर ध्यान दिनुपर्नेमा स्वागत गेट, शालिक बनाउने जस्ता कामहरुमा अल्झिन नहुने वडा अध्यक्ष ढकालको भनाइ छ । मेयर शाहले जस्तै अन्य पालिकाका जनप्रतिनिधिहरुले पनि विभिन्न व्यक्तिको शालिक, स्वागतद्वार, भ्यू टावरलगायतका अनावश्यक संरचना बनाउने प्रतिस्पर्धा नै गर्ने गरेका छन् ।

आमरुपमा यस्ता कार्यको विरोध पनि हुँदै आएको छ । तर जनचाहनाविपरीत काठमाडौं महानगरका मेयर शाहले भने पुरानै रोगलाई पच्छाउनु भएको छ । केही फरक र रचनात्मक कामको अपेक्षासहित अत्यधिक मत दिएर मेयरमा विजयी बनाएका मतदाता खासै उल्लेखनीय योगदान पनि नभएको र आत्महत्या जस्तो कायर काम गर्ने व्यक्तिको शालिक बनाउने निर्णयबाट सबैभन्दा बढी निराश बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *