Main News

सेनिटरी प्याडको भन्सार छुटमा प्रधानमन्त्रीपुत्र जयवीर र राज्यमन्त्री उमेश श्रेष्ठको संलग्नता (भिडियो रिपोर्टसहित)

२०७९ असार २४ गते २०:३७
सेनिटरी प्याडको भन्सार छुटमा प्रधानमन्त्रीपुत्र जयवीर र राज्यमन्त्री उमेश श्रेष्ठको संलग्नता (भिडियो रिपोर्टसहित)

२४ असार २०७९ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको राजीनामा प्रकरणसँग प्रधानमन्त्री कार्यालय पनि जोडिएको पाइएको छ । आगामी आर्थिक वर्षको बजेट निर्माणमा करको दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश प्रकरणमा शर्माले राजीनामा दिनुपरेको थियो ।

यसमा कर छुटबाट लाभान्वित हुनेमा प्रधानमन्त्रीपुत्र जयवीरसिंह देउवाको कम्पनी पनि परेको छ । यो कम्पनीमा ३० प्रतिशत शेयर रहेका हेमन्त बजगाईं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने राज्यमन्त्री उमेश श्रेष्ठको सहयोगी रहेको तथ्य फेला परेको छ ।

राज्य शक्तिको दुरुपयोगमा एकपछि अर्का शक्ति केन्द्रहरु सक्रिय छन् । आर्थिक वर्ष २०७९–८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्ति प्रवेश प्रकरणले राजीनामा दिन बाध्य अर्थमन्त्री जनार्दन शर्मासँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पनि संलग्न रहेको तथ्य सार्वजनिक भएकोछ ।

नयाँ बजेटले सेनिटरी प्याड स्वदेशमै उत्पादन बढाउनेभन्दा पनि आयातमा जोड दिने नीति लियो । त्यसका लागि तयारी प्याड आयातमा ९० प्रतिशत भन्सार छुट दिइएको छ भने कच्चा पदार्थ आयातमा ३० प्रतिशत मात्र छुट दिइएको छ । यो निर्णयले विदेशी उत्पादन सस्तो र स्वदेशी उत्पादन महंगो हुने भयो ।

यसको प्रत्यक्ष लाभ प्रधानमन्त्री शेरबहादुर देउवापुत्र जयवीरसिंह देउवा र राज्यमन्त्री उमेश श्रेष्ठलाई पुग्ने प्रष्ट छ । किनभने तयारी सेनेटरी प्याड आयातमा जयवीरसिंहको ७० प्रतिशत शेयर रहेको ब्लुप्रिन्ट ट्रेडिङ प्रालिलाई बढी फाइदा पुग्ने खबर हामीले बुधबार प्रसारण गरेका थियौं । यो कम्पनीमा चितवनका हेमन्त बजगाईंको ३० प्रतिशत शेयर रहेको पनि पुष्टि हुने शेयर लगत देखाएका थियौं ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७६ पुस २१ गते प्रमाणित सेयर लगत अनुसार कम्पनीको अध्यक्ष देउवा नै हुन । १ करोड पूँजी रहेको कम्पनीमा यहाँ प्रधानमन्त्रीपुत्र जयवीरको ७० प्रतिशत अर्थात ७० लाख रुपैयाँ रहेको छ भने ३० प्रतिशत अर्थात ३० लाख रुपैयाँ हेमन्त बजगाईंको रहेको छ ।

को हुन् हेमन्त बजगाईं ?
चितवनका हेमन्त बजगाईं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठका सहयोगी रहेको पुष्टि भएको छ । राज्यमन्त्री श्रेष्ठका विभिन्न कारोबारमा सहयोगी भूमिकामा रहेको चितवन कांग्रेसका एक नेताले पुष्टि गरेका छन् । हेमन्त अहिले चितवन कांग्रेसका क्रियाशील सदस्य हुनुहुन्छ ।

हेमन्त राज्यमन्त्री श्रेष्ठका धेरै जसो व्यापार, व्यवसायमा मात्र होइन, राज्यशक्तिको दोहनमा बिचौलियाको रुपमा प्रयोग हुने गरेको स्रोतहरुले बताएका छन् । व्लूप्रिन्ट प्रालिमा पनि राज्यमन्त्री श्रेष्ठकै प्रतिनिधिका रुपमा ३० प्रतिशतको शेयर सदस्य रहेको स्रोतले उल्लेख गरेको छ । हामीले हेमन्त बजगाईंलाई टेलिफोन सम्पर्क गर्यौं । कम्पनीमा आफ्नो शेयर रहेको उहाँले स्वीकार गर्नुभयो । कम्पनीको दर्ताको समयदेखि नै देउवासँग साझेदारी गरेको उहाँले बताउनुभयो । हेमन्तसँग टेलिफोन संवाद सुनौं ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कम्पनी रजिष्टार कार्यालयको अभिलेख अनुसार कम्पनी आर्थिक वर्ष २०७४–०७५ मा दर्ता भएको देखिन्छ । कार्यालयको अभिलेखमा प्रालिको नम्बर १८२६२६–०७४–०७५ रहेको छ ।

विशेष स्रोतका अनुसार पत्रमा बजगाईँको नाम भएपनि बजगाईं राज्यमन्त्री श्रेष्ठका व्यवस्थापक मात्र भएको तर वास्तवमा कम्पनी देउवा र श्रेष्ठको संयुक्त लगानीको कम्पनी हो । अनि प्रधानमन्त्रीपुत्र र राज्यमन्त्री श्रेष्ठलाई लाभ दिलाउनकै लागि अर्थमन्त्री जनार्दन शर्माले बजेटमा स्वदेश उद्योग र उत्पादनलाई जोड दिनुको साटो प्याडको हकमा आयातलाई प्रश्रय दिने नीति लिनुभएको देखिन्छ ।

सत्ताको बागडोर सम्हालेका प्रधानमन्त्रीपुत्र र राज्यमन्त्री श्रेष्ठको फाइदाका लागि गरिएको यस्तो निर्णयले आयातको आँकडा मात्रै बढाउने छैन् । लगानीकर्तालाई समेत निरुत्साहित बनाउने छ ।

यो पनि हेर्नुस्
सेनेटरी प्याडमा प्रधानमन्त्रीकै छोरालाई फाइदा पुर्याउन करको दर परिमार्जन गरेको खुलासा (भिडियो रिपोर्टसहित)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *