समाज

मुगुका स्वास्थ्य संस्था तथा शैक्षिक संस्थामा कर्मचारीको लापरवाही (भिडियो रिपोर्टसहित)

२०७९ असार २२ गते २१:२७
मुगुका स्वास्थ्य संस्था तथा शैक्षिक संस्थामा कर्मचारीको लापरवाही (भिडियो रिपोर्टसहित)

२२ असार २०७९ मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकामा रहेका स्वास्थ्य संस्था तथा शैक्षिक संस्थामा कर्मचारीले लापरवाही गर्ने गरेको पाइएको छ ।

स्वास्थ्य संस्थाका कर्मचारी र विद्यालयका शिक्षकले लापवाही गर्ने गरेको खुलेको हो । स्वास्थ्य संस्थामा कर्मचारी नियमित नजाने र शैक्षिक संस्था नियमित नखुल्ने गरेको पाइएको छ ।

मुगुको सदरमुकाम गमगढीबाट १ घण्टाको उकालो, सवारी साधनमा करिब ३० मिनेटको यात्रामा पुग्न सकिन्छ रारा विमानस्थल ताल्चा। विमानस्थलको आडैमा रहेको छायाँनाथ रारा नगरपालिकाको स्वास्थ्य सेवा ईकाईमा कार्यालय सहयोगी सहित ४ जनाको दरबन्दी छ । तर, स्वास्थ्यकर्मी चाहीँ नियमित आउँदैनन् त्यसैले स्वास्थ्य संस्था कार्यालय सहयोगीको जिम्मामा छ ।

छायाँनाथ रारा नगरपालिकाकै आधारभूत स्वास्थ्य केन्द्र कोटिलाको अवस्था पनि उस्तै छ ।

३ जनाको दरबन्दी रहेको कोटिला स्वास्थ्य केन्द्र पनि कार्यालय सहयोगीकै भरमा चलिरहेको छ ।

स्वास्थ्य मात्र हैन यहाँको शैक्षिक अवस्था पनि उस्तै छ । छायाँनाथ रारा नगरपालिका ७ को कर्णाली माध्यामिक विद्यालयमा १२ जना शिक्षकको दरबन्दी छ । तर अहिले विद्यालयमा २ जना शिक्षक मात्रै नियमित आइरहेका छन् ।

कर्णाली माध्यामिक विद्यालयमा ५ सय ७६ विद्यार्थी पढ्छन् । शिक्षकहरु भने विभिन्न बाहनामा विद्यालयमा उपस्थित नहुँदा दुई जना शिक्षकलाई विद्यार्थी सम्हाल्नै सकस छ ।

विद्यालयको यो हालतले अभिभावकहरु आफ्ना सन्तानको पढाइको विषयमा निकै चिन्तित देखिन्छन् ।

छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भाम भने गैरजिम्मेवार कर्मचारीलाई स्पष्टीकरणसहित कारवाही गरिने र निरन्तर छड्के अनुगमन गर्ने बताउनुहुन्छ ।

मुगुको छायाँनाथ रारा नगरपालिकाका यी स्वास्थ्य संस्था र शैक्षिक संस्था उदाहरण मात्रै हुन् । दुर्गम जिल्लाका हरेक विद्यालय र स्वास्थ्य केन्द्रको अवस्था यस्तै यस्तै देखिन्छ । शिक्षक कर्मचारी तथा स्वास्थ्यकर्मीको लापरबाहीले न विद्यालय राम्रोसँग चल्न सकेका छन्, न स्वास्थ्य संस्थाहरुमा नागरिकले सेवा पाइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *