Main News

चौतर्फी आलोचनापछि अर्थमन्त्री शर्माद्वारा संसदको रोष्ट्रमबाटै राजीनामा (भिडियो रिपोर्टसहित)

२०७९ असार २२ गते २१:१५
चौतर्फी आलोचनापछि अर्थमन्त्री शर्माद्वारा संसदको रोष्ट्रमबाटै राजीनामा (भिडियो रिपोर्टसहित)

२२ असार २०७९ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएको छ । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश दिएको भन्दै चौतर्फी आलोचना खेपिरहेका अर्थमन्त्री शर्माले छानबिनका लागि संसदीय विशेष समिति गठन भएलगत्तै आज संसदको रोष्ट्रमबाटै राजीनामा घोषणा गर्नुभएको हो ।

अनधिकृत व्यक्तिलाई बजेट निर्माण प्रक्रियामा प्रवेश गराएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठकमा पटकपटक शर्माको राजीनामा माग गर्‍यो ।

उसो त सत्तारुढ दल नेपाली कांग्रेसकै केही सांसदहरुले पनि सार्वजनिक रुपमै शर्माको राजीनामा मागिरहेका थिए । संसदमा कुरा उठेपछि अर्थमन्त्री शर्मामाथि छानबिनका लागि भन्दै सभामुख अग्नीप्रसाद सापकोटाले संसदीय छानबिन विशेष समिति गठनको घोषणा गर्नुभयो ।

समिति गठनलगत्तै सभामुख सापकोटाले एमाले सांसद योगेश भट्टराईलाई बोल्न समय दिनुभयो । भट्टराईले
संसदीय समिति अर्थमन्त्री दोषी हो की होइन भनेर छानबिन गर्न गठन नभएको भन्दै अर्थमन्त्री दोषी प्रमाणित भइसकेको बताउनुभयो । भट्टराईले मन्त्री शर्मालाई पदमा राखेर छानबिन हुन नसक्ने भन्दै राजीनामा माग गर्नुभयो ।

भट्टराईपछि बोल्न समय पाएका अर्थमन्त्री शर्माले आफूमाथिको अभियोग पुष्टि गर्न चुनौती दिँदै पदबाट राजीनामा घोषणा गर्नुभयो ।

यसरी मन्त्रीमाथि प्रश्न उठ्दा राजीनामा दिने वा छानबिनका लागि समिति गठन हुने कुरा नौलो भने होइन । तर, छानबिन गर्न भन्दै बनेका समितिहरुले दोषी ठहरिएका मन्त्रीमाथि कारवाहीभन्दा ततकालीन जनआक्रोस थमथमाउने र मन्त्रीहरुलाई चोख्याउने काम गर्दै आएका छन् ।

अब अहिले गठन भएको समितिले बजेट निर्माणमा गम्भीर गल्ती गरेका शर्मामाथि कारवाही सिफारिस गर्ला वा शर्मालाई चोख्याउने औजार मात्र बन्ला ? थाहा पाउन केही समय पर्खिन पर्ने हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *