Main News

आगामी मंसिर २ गते संघ र प्रदेशको चुनाव एकै चरणमा गर्न आयोगको सुझाव

हिमालय टिभी
२०७९ असार २२ गते १८:१७
आगामी मंसिर २ गते संघ र प्रदेशको चुनाव एकै चरणमा गर्न आयोगको सुझाव

२२ असार २०७९ काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर २ गते गर्न सरकारलाई सिफारिस गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारी टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति प्रस्ताव गरेका हुन् ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव एकै चरणमा एकै दिन गर्न सुझाव दिएको हो । आयोग पदाधिकारीले निर्वाचनको तयारीका लागि चाहिने १ सय २० दिनको समय छुट्ट्याएर ढिला नगरी मिति घोषणा गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।

निर्वाचनको मिति आयोगको सिफारिसमा सरकारले तोक्ने कानूनी व्यवस्था छ । आयोगले विद्युतीय मतदान यन्त्रको प्रयोग बढाउँदै जानुपर्ने सुझाव पनि सरकारलाई दिएको छ ।

२०६४ सालको संविधानसभा निर्वाचनमा आयोगले ६ वटा निर्वाचन क्षेत्रहरुमा र २०७१ सालको संविधानसभा उपनिर्वाचनमा पाँचवटा निर्वाचन क्षेत्रमा विद्युतीय मतदान यन्त्र प्रयोग गरिएको आयोगले उल्लेख गरेको छ । निर्वाचनका लागि करिब १० अर्ब खर्च हुने प्रारम्भिक अनुमान पेस गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले हालको बजार मूल्यअनुसार चुनाव सम्पन्न गराउन करिब १० अर्ब खर्च लाग्ने अनुमान पेस गरिएको जानकारी दिनुभयो ।

यसअघि ०७४ को प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न गर्न ७ अर्ब ८० करोड खर्च भएको थियो । आयोगले हाल तलब, भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधामा वृद्धि भएका कारण खर्च बढ्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *