Main News

मकवानपुर र भक्तपुरमा पनि हैजा संक्रमण पुष्टि

२०७९ असार २२ गते १६:४६
मकवानपुर र भक्तपुरमा पनि हैजा संक्रमण पुष्टि

२२ असार २०७९ काठमाडौं । थप दुई जनामा हैजा भेटिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले हेटाैडा र चाँगुनारायण नगरपालिकामा दुई जनामा हैजाका बिरामी भेटिएका बताउनुभयो । ती दुवै जनाको अहिले उपचार भइरहेको छ ।

नयाँ थपिएकासँग अहिलेसम्म २१ जनामा हैजा भेटिएको उहाँले जानकारी दिनुभयो । अहिलेसम्म पाँच जना बिरामीको उपचार भइरहेको छ ।

हैजा तथा झाडापखाला रोगबाट बच्नका लागि उमालेको वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी मात्र पिउन आग्रह गरिएको छ यस्तै खानेपानीलाई सधैँ सफा भाँडोले छोप्न, खानेकुरालाई राम्ररी पकाएर खान, सडेगलेको, बासी र झिँगा भन्केको खानेकुरा नखानसमेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख वसन्त अधिकारीले खानेपानीका कारणले हैजाका बिरामी बढेकोे बताउनुभयो । उहाँका अनुसार हैजा देखिएका ठाउँको खानेपानी परीक्षण गर्दा खान अयोग्य रहेको छ । उहाँले कीर्तिपुरमा चार ठाउँका खानेपानीको नमूना परीक्षण गर्दा कोलिफर्म जिवाणु देखिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *