Main News

शंकाको घेरामा अर्थमन्त्री : दोषी रहेको निष्कर्ष ! (भिडियो रिपोर्टसहित)

२०७९ असार २१ गते २०:५५
शंकाको घेरामा अर्थमन्त्री : दोषी रहेको निष्कर्ष ! (भिडियो रिपोर्टसहित)

२१ असार २०७९ काठमाडौं । आर्थिक वर्ष २०७९–८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिको प्रवेशका विषयले अर्थमन्त्री जनार्दन शर्मालाई शंकाको घेरामा बलियोसँग तानेको छ ।

संघीय संसदमा कुरा उठिसकेपछि र प्रमुख प्रतिपक्षी दल एमालेले जेठ १४ गते रातिको सीसीटिभी फुटेज माग गर्‍यो । तर, फुटेज स्टोर नै नभएको भन्दै अर्थमन्त्रालयले दिन मानेन । यसले अर्थमन्त्री शर्मा दोषी रहेको निश्कर्ष निकाल्न थालिएको छ ।

नैतिकता भएको भए अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रश्न उठ्ने बित्तिकै राजीनामा दिइसक्नुहुन्थ्यो । तर उहाँमा नैतिकता देखिएन । भलै अर्थमन्त्री शर्मा दोषी रहेको पुष्टि भएको छैन तर, शक्तिमा हुँदै–हुँदै उहाँविरुद्ध कसरी छानबिन होला ?

एउटा बलियो आधार मानिएको अर्थमन्त्रालयको सीसीटीभी फुटेज रेकर्डमा नरहनुले शर्माको नियतमै प्रश्न उठाएको छ । यसले अनधिकृत व्यक्तिको सिधा–सिधा चलखेललाई बल पुर्‍याएको छ । अर्थमन्त्री शर्मा मात्र होइन, मन्त्रालयका अधिकारीहरु पनि धेरथोर दोषी छन् । यदि संंगीन आरोप लाग्दा पनि सत्तारुढ दल बोल्दैन । कुन बलमा अर्थमन्त्री जोगिँदै हुनुहुन्छ ?

माओवादी केन्द्रका नेता समेत रहेका अर्थमन्त्री शर्माविरुद्ध गम्भीर आरोप लाग्दा उसको केन्द्रीय समितिमा एक शब्द उच्चारण हुँदैन । सदनदेखि सडकसम्म छानबिन र अर्थमन्त्री शर्माको राजीनामा माग तीव्रबन्दा बल्लतल्ल मंगलबार पूर्वस्थायी समिति सदस्यको बैठकमा माओवादीका केही नेताले चासोसम्म राखेका छन् ।

सीसीटीभी फुटेज एउटा आधार हुँदा त्यो फुटेज नै रेकर्डमा नरहनुले सिंहदरबारमा बिचौलिया र धन्दावालहरुको गहिरो प्रभाव रहेको पुष्टि हुन्छ । मन्त्रीहरु बिचौलियाको साँठगाँठमा रमाइरहेका छन । देश बिचौलियाले चलाइरहेका छन्, प्रधानमन्त्रीदेखि मन्त्रीहरु अभिनयमात्र गरिहेका छन् ।

अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई कुनै स्वार्थ समूहको इशारामा करको दर हेरफेर गर्नु देश र राज्यका लागि कति संवेदनशील विषय हो ।अर्थ मन्त्रालयका गतिविधिको विषयमा सीसीटीभी फुटेज माग्दा हटाइएको भन्ने जवाफले सिंहदरबार सेटिङको अड्डा भएको देखाउँछ । दक्षिण अफ्रिकाको जुप्ताज समूहको कालो इतिहास नेपालमा दोहोरिदै त छैन ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *