Main News

धनगढीको नगरसभामा कुर्सी हानाहान (भिडियो रिपोर्टसहित)

२०७९ असार २० गते २१:११
धनगढीको नगरसभामा कुर्सी हानाहान (भिडियो रिपोर्टसहित)

२० असार २०७९ धनगढी। धनगढी उपमहानगरपालिकाको आठौं नगर सभाको तेस्रो बैठकमा विवाद भएको छ । उपमहानगरका मेयर गोपाल हमालले सल्लाहबिना नै बजेट पुस्तिका प्रकाशन गरेको भन्दै उपमेयरसहित केही नगरसभा सदस्यहरुले बैठकमा विरोध जनाएका हुन् ।

यो धनगढी उपमहानगरपालिकाको आठौँ नगरसभाको तेस्रो बैठकको दृष्य हो ।
बैठक चलिरहेको थियो । बैठकमा प्रशासकीय अधिकृत अर्थात नगरसभाका सचिवले उपमहानगरपालिका प्रमुख तथा बैठकका अध्यक्षलाई तेस्रो बैठक प्रारम्भ र घोषणा गर्न अनुरोध गर्नुभयो ।

मेयर गोपाल हमालले आफ्नो मन्तव्य राख्ने क्रममा बजेटले नयाँ परियोजना नसमेटेको र पुराना योजना सम्पन्न गर्नेगरी बजेट तयार गरिएको बताउनुभयो ।

मेयर हमालले छलफलमा जानु पूर्व सहजीकरण गर्न कार्यदललाई अनुमति दिनुभयो । सो अनुसार उपमेयर कन्दकला रानाले बोल्ने क्रममा आफूसँग सल्लाह नै नगरी बजेट तयारी गरिएको गुनासो गर्नुभयो ।

तत्पश्चात पुनः मेयर हमालले उपमेयरसहित बसेर बजेट तयार पारिएको जानकारी गराउनु भयो ।

मेयरले आफ्नो स्पष्टीकरण दिएपछि प्रशासकीय अधिकृततर्फ माइक हस्तान्तरण गर्नुभयो । उपमेयर भने आफूले बोल्न पाउनुपर्ने भन्दै माइक माग्दै हुनुहुन्थ्यो ।

मेयरको स्पष्टीकरणबाट आफू सन्तुष्ट हुन नसकेको भन्दै उपमेयरले बोलेसँगै बैठकमा सहभागी केही सदस्यले विरोध शुरु गरे र देखियो यस्तो दृष्य ।

यो विवाद झण्डै १ घण्टासम्म चल्यो । झण्डै एक घण्टापछि पुनः सञ्चालन भएको बैठकमा मेयर हमालले आफूले उपमेयरसँगको पटक पटकको छलफलपछि बजेट ल्याएको दाबी गर्नुभयो । यदि आफूले गलत गरेको भए सजायँ भोग्न तयार रहेको तर गल्ति कहाँ भयो भनि प्रष्ट नपारी अवरोध मात्र नगर्न अनुरोध गर्नुभयो ।

लगत्तै उपमेयरले विधि र प्रक्रियाको कार्यान्वयनमा पालिका प्रमुख चुकेको आरोप लगाउँदै आगामी बैठकमा विधि र प्रक्रिया अनुरुप अघि बढ्ने आशा व्यक्त गर्नुभयो ।

उपमहानगरपालिकाको १९ वडा मध्ये ६ एमाले, २ माओवादी र ११ कांग्रेसले जितेको थियो । एकलौटी रुपमा बजेट निर्माण गरेको विषयमा बोल्नुभएकी उपमेयर कन्दकलालाई एमाले र माओवादी केन्द्रका वडा सदस्यले समर्थन गरे । अन्त्यमा कांग्रेस वडा सदस्यहरु मेयरको पक्षमा उभिएपछि बजेट बहुमतले पास भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *