Main News

फुटपाथका व्यापारी भन्छन् कि गरिखान देउ, कि विकल्प देउ ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार २० गते २०:३५
फुटपाथका व्यापारी भन्छन् कि गरिखान देउ, कि विकल्प देउ ? (भिडियो रिपोर्टसहित)

२० असार २०७९ काठमाडौं । काठमाडौंका फुटपाथमा व्यापार गरेर गुजारा चलाउनेहरु धेरै छन् । तर, उनीहरु नगरप्रहरीको धरपकडले दैनिकजसो सास्ती व्यहोर्न बाध्य छन् । फुटपाथमा व्यापार गर्ने उनीहरुको चाहना होइन, बाध्यता हो । त्यसैले उनीहरु भन्छन् वैकल्पिक व्यवस्था गरिदेउ, धरपकड गरेर सास्ती नदेउ ।

फुटपाथमा व्यापार गर्ने रहर कसैलाई हुँदैन । दैनिकी चलाउनुपर्ने बाध्यताले सडकपेटीमा साना व्यवसाय गर्नुपर्ने बाध्यता बोकेका धेरै छन्, काठमाडौंमा । काठमाडौं उपत्यकामा २१ हजारभन्दा बढी ठेलागाडा छन् । त्यसबाहेक फुटपाथ प्रयोग गरेर व्यवसाय गर्नेहरुको संख्या हजारौंको संख्यामा छ । तर, उनीहरुको लेखाजोखा सम्बन्धित निकायले राखेका पनि छैनन् ।

तिनै व्यवसायी नगरप्रहरीको धरपकडमा पर्ने गरेका छन् । केही दिनअघि मात्र बालुवाटारमा मकै पोलेर गुजारा गर्दै आएका सिन्धुपाल्चोक मेलम्चीका चेतेन्द्रनाथ आचार्य र उहाँकी पत्नि सीता नगरप्रहरीको लछारपछारमा पर्नुभयो । त्यति मात्र होइन, ति पीडितहरुविरुद्ध नगरप्रहरीले कारवाहीको प्रक्रिया पो अघि बढायो । आचार्य दम्पती मेलम्चीबाट फुटपाथ कब्जा गरेर व्यापार गर्न आउनुभएको थिएन। नत उहाँहरु भाडा र कर तिर्नको दुःखले नै सडकमा व्यापार गर्न नै आउनुभयो ।

उहाँहरुले केही वर्ष पहिले वडा कार्यालयमा, कर कार्यालयमा दर्ता गरेरै फलफूल पसल खोल्नुभएको थियो । तर, कोरोना महामारीमा भएको लकडाउनले सबै चौपट पारिदियो । र पसल बन्द गरेर फुटपाथमा व्यापार गर्नुपर्ने बाध्यता आइलाग्यो । तर, पनि पसलको कर तिर्न अझै छाड्नुभएको छैन, आचार्य परिवारले । फुटपाथमा व्यवसाय गर्दै गुजारा चलाउन बाध्य उहाँहरुलाई नगरप्रहरीले लछापछार गर्‍यो ।

काठमाडौंको फुटपाथलाई जिउने आधार बनाएका अन्य सडक व्यापारीको कथा आचार्य दम्पतीको भन्दा कम छैन् । काठमाडौंको कान्तिबाल अस्पताल र त्रिवि शिक्षण अस्पतालको पर्खालको छेउमा मकै पोलेर गुजारा चलाउँदै आउनु भएको छ, काभ्रेकी विष्णुमाया थापा । झण्डै २० वर्ष अघि फोक्सोको क्यान्सर पीडित श्रीमानको उपचारमा घरजग्गा, गरगहना सबै बेचेकी विष्णुमायाको न श्रीमान जिवित हुनुहुन्छ नत सम्पत्ति नै छ । गुजारा चलाउन सडककै आश्रय लिनुपरेको छ । तर, छोड्दैन नगरप्रहरी ।

टिस्टुङ पालुङ जाने बाटो सातघुम्तीमा घर भएका रामकाजी पौडेलको एक हात छैन् । अन्य काम गर्न नसकेपछि र आफूले सक्ने काम उपलब्ध नभएपछि पौडेलको पनि जिउने आधार यही फुटपाथ बनेको छ । फुटपाथमा व्यापार गरेर चार सन्तानको पालन पोषण गर्दै आएका पौडेल आफूले सक्ने काम गरेर खान पनि नदिने भएपछि चिन्तामा हुनुहुन्छ ।

काठमाडौंको फुटपाथलाई आफ्नो जीवनको आधार बनाएका यी केही उदाहरण मात्रै हुन् । फुटपाथ उनीहरुको रोजाई नभएर बाध्यता हो । फुटपाथ व्यवसायीलाई आँखाको कसिंग्र देख्ने नगरप्रहरीले फुटपाथमै कार, मोटरसाइकल पार्किङ गर्ने, फुटपाथ कब्जा गरेर बिल्डिङ ठड्याउने, निर्माण सामग्री थुपार्नेहरुलाई भने देखेको नदेखेगर्ने गरेको आरोप पनि लाग्ने गरेको छ । नगरप्रहरीले निमुखामाथि बुट बर्साउने, लछारपछार गर्ने मात्र होइन्, हप्ता असुली गर्न पनि पछि पर्दैनन् । गरिखान्छु भन्नेलाई व्यवस्थित गर्नुको सट्टा लछारपछार गर्न किन उद्यत छ, स्थानीय सरकार ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *