राजनीति

परिवार पार्टी चलाउन खोज्दा वामदेव गौतमको ओरालो यात्रा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार १९ गते २०:५६
परिवार पार्टी चलाउन खोज्दा वामदेव गौतमको ओरालो यात्रा (भिडियो रिपोर्टसहित)

१९ असार २०७९ काठमाडौं । बहुदल स्थापनापछि पटकपटक गृहमन्त्रीका रुपमा सरकारमा पुगेका वामदेव गौतम यतिबेला मुलधारको राजनीतिक दलबाट अलग भएर कम्युनिष्ट पार्टीहरुलाई जोड्ने अभियानमा हुनुहुन्छ ।

यही अभियान चलाउन पार्टी नै गठन गरेका गौतम पछिल्लोपटक आफैले शुरु गरेको अभियानबाट निस्काशित हुनुभयो । कुनै समय हरेक क्याबिनेटको निर्विकल्प सदस्य गौतम अहिले किन राजनीतिक बहिस्करणमा पर्नुभएको होला ?

२०७४ सालको संसदीय निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार सञ्जय गौतमसँग पराजित भएपछि तत्कालीन नेकपा एमालेका उपाध्यक्षसमेत रहका वामदेव गौतम विक्षिप्त जस्तो देखिनुभयो । संविधान निर्माणपछिको पहिलो संसदीय निर्वाचनमा वाम गठबन्धन बनाएर देशभर वाम लहर ल्याउन सुत्रधार बनेका गौतम आफै चाँहि पराजित भएपछि असह्य चोटमा पर्नुभयो ।

निर्वाचनमा भोगेको पराजयको घाउ निको नहुँदै पार्टी एकीकरणमा समेत गौतमले सम्मानजनक स्पेस पाउनु भएन । गठबन्धन बनाउन जस्तै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्नसमेत उहाँको भूमिका सुत्रधारकै रुपमा थियो । तर एकीकरणबाट बनेको पार्टीमा राम्रो स्पेस पाउनका लागि गौतमले लामै समय संघर्ष गर्नुपर्यो ।

संसदीय निर्वाचनमा भोगेको हारपछि सरकारमा जान त पाइएन, पाइएन पार्टीमा पनि राम्रो हैसियत प्राप्त नभएपछि उहाँको अर्जुनदृष्टि उपनिर्वाचन गराएरै भए पनि संसदमा पुग्नेमै केन्द्रित रह्यो । त्यसका लागि काठमाडौं, डोल्पा, कास्कीलगायतका केही निर्वाचन क्षेत्रमा गौतमका लागि स्पेसको खोजी गरियो ।

तर चौतर्फी विरोध भएपछि गौतमले प्रतिनिधिसभाको उपनिर्वाचनबाट सांसद बन्न नचाहेको प्रष्टीकरण दिनुपर्‍यो । सांसद बन्ने हुटहुटीले चाहीँ गौतमलाई छोडेन । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्नुभयो । तर राष्ट्रियसभामा मनोनित हुने चर्चाकाबीच गौतमले आफू प्रधानमन्त्रीकै दाबेदार रहेको भन्दै राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधनको लविङ थाल्नुभयो ।

पटकपटक गृहमन्त्रीका रुपमा सरकारमा बसेर नअघाएका गौतमको प्रधानमन्त्री बन्ने उत्कट चाहना पूरा हुन सकेन । प्रकारान्तरले नेकपासमेत विभाजित भयो । पार्टी नै नरहेपछि गौतमको प्रधानमन्त्री बन्ने पालो आउन झनै कठिन हुँदै गयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि व्युँतिएको नेपाल कम्युनिष्ट पार्टी नेकपा नामको मुद्दाले पार्टी नै विभाजित भएर पूर्ववत् एमाले र माओवादीको हैसियतामा फर्कियो । त्यसपछि गौतमले नेकपा एकीकरण अभियान चलाउनु भयो र यो अभियानमा असफल हुनु भयो ।

बहुदल स्थापनाको सुरुवाती समयमा सरकार सञ्चालन वा पार्टी सञ्चालन दुवै कुरामा आफ्नो काँधमा आएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सफल हुनुहुन्थ्यो गौतम । तर तत्कालीन एमाले फुटालेर माले गठन गरेपछि चुनावमा नराम्ररी पछारिनुभयो र एमालेमै फर्किनुभयो । एमालेमा फर्किएपछि पनि पार्टीभित्र राम्रै गुट चलाउन सफल रहेका गौतम एमाले र माओवादीबीचको चुनावी गठबन्धन भएपछि भने एकपछि अर्को असफलतातर्फ झर्नुभएको थियो ।

असफलता यो हदसम्म झर्यो कि, गौतमले गत हप्ता पार्टी एकता राष्ट्रिय अभियान चलाउँदा उहाँसँग विगतमा निकट रहेकाहरु कोही पनि साथमा भएनन्, केवल परिवारका सदस्य मात्र गौतमको पार्टीमा रहे । तर परिवारकै सदस्य जोडेर बनाएको अभियान एक हप्ता नबित्दै चिरा परिसकेको छ ।

वामदेव गौतम अझै पनि देशमा एउटा मात्रै कम्युनिष्ट पार्टी होस् र त्यो शक्तिशाली होस् भन्ने चाहनुहुन्छ । तर यो चाहनाभित्र आफ्नो प्रधानमन्त्री बन्ने अभिष्टको त्यान्द्रो लुकाएर राख्नुभएको छ । वर्षौँदेखि यही अभिष्टले कहिले फुट कहिले जुट, फेरि फुट र फेरि जुटमा गौतमलाई डोर्‍याइरहेको छ ।

पछिल्लो पटक त यो अभिष्टमा आफैले राखेका सदस्यहरुलेसमेत जाली खेल खेलेर कारबाहीको विज्ञप्ति निकालेपछि गौतमसँग अब भौतिक उचाइ मात्र बाँकी रहेको छ, राजनीतिक उचाइ गौतमबाट सदाका लागि बिदा हुन लागेको प्रतीत भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्