समाज

कुपाेषणकाे चपेटामा नागरिक: सरकारकाे पोषण कार्यक्रम बालुवामा पानी जस्तै (भिडियो रिपोर्टसहित)

२०७९ असार १८ गते २०:३७
कुपाेषणकाे चपेटामा नागरिक: सरकारकाे पोषण कार्यक्रम बालुवामा पानी जस्तै (भिडियो रिपोर्टसहित)

१८ असार २०७९ बाजुरा । बाजुराको मुक्तिकोट गाउँका ३ सय ८ परिवार बर्षेनि कुपोषणको चपेटामा पर्छन् । गर्भवती महिला, नवजात शिशु र बालबालिका कुपोषणको शिकार भइरहँदा स्थानीय सरकारको पोषण कार्यक्रम बालुवामा पानी भएको छ ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको मुक्तिकोटमा गरिबी, भोकमरीले मातृ–शिशु मृत्यु सामान्य भइसकेको छ । दुई साता अघि मात्र कुपोषणका कारण मुक्तिकोटमा एक शिशुको मृत्यु भयो ।

स्वास्थ्य कार्यालय बाजुराका अनुसार मुक्तिकोटमा ४१ प्रतिशत बालवालिका कुपोषित छन् । उच्च प्रजननदर, उच्च बाल मृत्युदर यो गाउँको मुख्य समस्या हो । पेट भर्ने अन्न नै जोहो हुन नसकिरहेका बेला सन्तुलित भोजन धेरै परको कुरा भएको छ ।

वर्षभरी मिहेनत गरे पनि बाजुरामा उत्पादन निकै कम हुन्छ । उत्पादन भएको अन्न केही महिना मै सकिन्छ । किनेर खान सक्ने अवस्था पनि छैन ।

स्वामीकार्तिक खापर गाउँपालिका अनुसार कुपोषणकै कारण असार महिनामा ९ बालवालिकाको मृत्यु भइसकेको छ । स्वास्थ्यकर्मी टोली गाउँमा पुगेर परीक्षण गर्दा ३ सय ४३ जना कुपोषित रहेको पाइएको छ । २३ जनामा उच्च, ५५ जनामा मध्यम कुपोषण छ । १० देखि १४ वर्षसम्मका बालबालिकामा १२ जना अति कुपोषित, ५३ जना मध्यम र ५६ जना सामान्य कुपोषण पाइयो ।

प्रदेश सरकार र स्थानीय तहले पोषण र स्वास्थ्य सेवालाई बेवास्ता गर्नाले नागरिक अकाल मै ज्यान गुमाउन बाध्य छन् । स्थानीय तहको पोषण कार्यक्रम पनि प्रभावकारी हुन सकेको छैन । प्रभावकारी बनाउन स्थानीय तहले विशेष योजना ल्याउन आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *