राजनीति

नेताको बाेलीमा छैन भर, ओलीकाे भविष्यवाणी मिलेन, किन यस्ताे बाेल्छन् नेता ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार १७ गते २१:१७
नेताको बाेलीमा छैन भर, ओलीकाे भविष्यवाणी मिलेन, किन यस्ताे बाेल्छन् नेता ? (भिडियो रिपोर्टसहित)

१७ असार २०७९ काठमाडौं । नेताहरुको बोलीमा लगाम नहुँदा बेलाबेलामा नागरिकहरु ठूलो भ्रममा पर्ने गरेका छन् । पछिल्लो पटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार १७ गतेका दिनमाथि गरेको भविष्यवाणीले नेताहरु किन यस्तो निम्नस्तरको अभिव्यक्ति दिन उद्दत छन् भन्ने प्रश्न उब्जिएको छ ।

भूकम्पको अफवाह फैलाएको भन्दै दुई वर्षअगाडि २०७६ सालको जेठ २१ गतेका दिन ज्योतिषी अर्जुन क्षेत्री पक्राउ परे । उनी त्यही वर्षको जेठ २९ गते देशमा शक्तिशाली भूकम्प आउने भविष्यवाणी गर्दै युट्युब च्यानलहरुमा अन्तरर्वाता दिँदै हिंडेका थिए । त्यतिबेला सरकारको नेतृत्व गर्नुभएको थियो केपी शर्मा ओलीले ।

प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओलीले त्यसअघि र त्यसपछि थुप्रै भविष्यवाणी गरिरहनु भएको छ । सत्तामा नहुँदा चुनावी भविष्यवाणी गर्ने मात्र होइन, सत्ताको बागडोर सम्हालेपछि ओलीले यस्ता अनगिन्ती भविष्यवाणी गर्नुभएको छ । जुन सबैजसो भविष्यवाणी व्यवहारतः झुठा ठहर भएका छन् । तर जति झुठ र अफवाह फैलाए पनि ओली पक्राउ पर्ने वा आत्मआलोचित हुने कुराको परिकल्पना नगरौँ ।

पछिल्लोपटक एमाले अध्यक्ष ओलीले आजको दिन अर्थात् २०७९ असार १७ गते नेपालमा राजनीतिक उलटफेर हुने भविष्यवाणी गर्नुभएको थियो । गत वैशाख २६ गते एक टेलिभिजनबाट प्रसारित अन्तर्वार्तामा ओलीले आफूलाई ज्योतिषि चाहीँ होइन भन्दै असार १७ को दिन नेपालमा कुनै भयानक घटना हुने भविष्यवाणी गर्नुभएको थियो ।

उहाँको भविष्यवाणीको ठोकुवा यतिसम्म थियो कि ज्योतिषीमा सामान्य विश्वास गर्नेहरुलाई सम्भवत असार १७ गते नेपाली राजनीतिमा अर्को कोत पर्व पो हुने हो कि भन्ने भ्रम पैदा गर्यो । खासगरी असार १७ गते नेपाली राजनीतिमा ठूलो बदलाव हुने र ओलीकै शब्दमा उलटफेर भई राजनीतिक समीकरणहरु भताभुंग हुने, एउटाले एउटा खाँबो बोक्ने, अर्कोले अर्को बलो बोकेर हिँड्ने अवस्था आउने ठोकुवा गर्नुभयो ।

पहिलोपटक नेकपा एमालेको अध्यक्षमा निर्वाचित हुनुअघि ओली तिखा भाषणहरुका कारण चर्चामा रहनुहुन्थ्यो । विपक्षीलाई मात्र होइन आफ्नै पार्टीको नेतृत्वमाथि उखानटुक्का मिश्रित आलोचनाले खत्र्याखुत्रुक्क पार्न खप्पिस उहाँले त्यो सिलसिला तीन पटक प्रधानमन्त्री, दुई पटक एमाले अध्यक्ष र एकपटक नेकपाको अध्यक्ष हुँदासमेत जारी राख्नुभयो ।

ओली विज्ञहरुको विज्ञ, डाक्टरहरुको डाक्टर र ज्योतिषीहरुको ज्योतिषीसमेत बनेर आफूलाई सर्वज्ञ दाबी गर्न उद्दत हुनुहुन्छ । आफ्नै कारण राजनीतिक ओरालो झर्दै गरेका ओलीले यो बीचमा आफ्ना पूर्व सहकर्मी र सहपाठीको उछितो काड्न शब्दकोषका कुनै नमिठा शब्दहरु बाँकी राख्नु भएन ।

राष्ट्रवादको टेकोले अडिएको आशनमा बसेर ओलीले कयौँ गाली पुराणहरु बाचन गरिरहनु भयो । शक्तिमा हुँदासमेत आश्वासनबाहेक थप केही दिन नसकेका ओलीबाट शक्तिविहीन हुँदा खास ठूलो अपेक्षा नभए पनि राजनीतिक संस्कार अपेक्षित थियो । तर ओलीले विपक्षी पार्टीले कुन हदसम्मको नराम्रो गर्नसक्छ त्यसको सदुपयोग गर्नुभयो । लामो समय संसद अवरुद्ध, राष्ट्रिय महत्वका मुद्दाहरुमा मौनता र गठबन्धन सरकारको अविरल आलोचना ओलीको ड्युटी बन्यो ।

राजनीतिमा विचार र सिद्धान्त हुन्छ । राष्ट्रिय सरोकारका विषयहरुमा बहस र छलफल हुन्छन् । सरकारमा हुनु र विपक्षमा हुनुले राष्ट्रिय मुद्दाहरुप्रतिको दृष्टिकोण र अडान थोरै वा धेरै हुँदैन । कार्यान्वयनको तुलोमा कोही तल कोही माथि हुन सक्ला ।

तर देशको मुद्दामा कुनै दृष्टिकोण र जिम्मेवारी नै महसुस नभएपछि, राजनीतिक मुद्दामा कुनै तर्क र विचार नै बाँकी नरहेपछि नेताहरु भविष्यवाणी र ठोकुवा गर्न निस्किँदा रहेछन् । ज्योतिषी गर्दै म ज्योतिष होइन भन्नुको अर्थ मलाई थाहा छैन भन्नेमा मात्र सीमित हो कि ज्योतिष भन्दा माथि भविष्यद्रष्टा नै हुँ भन्ने दाबी हो त्यो थाहा छैन । तर हरकसैको बोलीको अर्थ खोजिन्छ र त्यो अर्थपूर्ण हुनुपर्छ ।

असार १७ लाई ओलीले जुन भयावह दिनका रुपमा व्याख्या गरेर सनसनी फैलाउन थाल्नुभएको थियो यो अहिलेको राजनीतिक प्रवृत्तिको दृष्टान्तमात्र हो । हालका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल वा राजनीतिलाई जसले पुख्य पेशा वा व्यवसाय बनाएर भाषण बेचिरहेका छन् सबैजसोका अभिव्यक्ति फिल्टर गरेर सुन्दासमेत हैजाका किटाणुयुक्त हुने गरेका छन् । यस्तो प्रवृत्ति कसरी सुध्रिन्छ ? मतदातालाई पो थाहा छ कि ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्