Main News

कुनै समय धान-चामल निर्यात गर्ने नेपालमा किन बढ्दैछ आयातको दर ? (भिडियो रिपोर्टसहित)

२०७९ असार १५ गते २०:५५
कुनै समय धान-चामल निर्यात गर्ने नेपालमा किन बढ्दैछ आयातको दर ? (भिडियो रिपोर्टसहित)

१५ असार २०७९ काठमाडौं । २०३६ साल अघि नेपालले विदेशमा धान चामल निर्यात गर्दथ्यो । दक्षिण एसियाली मुलुकदेखि दक्षिण कोरिया, मलेसियादेखि अमेरिकासम्म नेपाली चामल निर्यात भएको तथ्याङ छ । तर, २०४६ पछि विदेशबाट प्रत्येक वर्ष धान चामल आयात बढ्दै गएको छ ।

४३ वर्षअघिसम्म चामल निर्यात गरेर नेपालले कारोडौं रकम भित्राउथ्यो । २०३६ सालसम्म पनि चामल निर्यात गर्ने नेपालको २०१८ सालमा धान उत्पादन र व्यापारको गर्विलो इतिहास थियो । अहिले भारतबाट सबैभन्दा धेरै चामल आयात गर्ने नेपालले पहिले भारतमै धेरै चामल निर्यात गर्थ्यो ।

२०१८ मा २ लाख ८९ हजार मेट्रिक टन चामल निर्यात भएको थियो । त्यो बेला त्यति नै मात्रा चामल निर्यात गर्दा त्यस वापतको मूल्य ४ करोड ३० लाख अमेरिकी डलर थियो । २०४२ सालमा समेत नेपालले १ करोड ३० लाख अमेरिकी डलर बराबरको ५९ हजार मेट्रिक टन चामल निर्यात गरेको थियो । तर २०४७ सालयता त्यो विरासत इतिहासमा मात्र सीमित रहेको छ । त्यसपछि नेपालको धानचामल व्यापार निर्यात होइन आयाततर्फ मोडियो ।

पछिल्लो समय निर्यात त कता हो कता वार्षिक २७ अर्बको चामल र १५ अर्बको धान आयात भइरहेको छ । असार १५ गते राष्ट्रिय धान दिवस भनेर सरकारले विभिन्न कार्यक्रम गरेपनि धान चामलको आयात हरेक वर्ष बढ्दै छ । पहाडका भूमि बाँझो हुँदै गएका छन भने तराईका खेतहरुमा प्लटिङ गरेर बसोबास बढ्दै जाँदा खेतीयोग्य जग्गा समेत घट्दै गइरहेको छ ।

भन्सार विभागको तथ्याङ्कमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म २७ अर्ब १२ करोड एक लाख २३ हजार मूल्य बराबरको ४९ करोड ३० लाख ८१ हजार ८ सय केजी चामल आयात भएको छ ।

जसमा भारतबाट २६ अर्ब ९३ करोड २९ लाख १० हजार मूल्य बराबरमा ४९ करोडको चामल आयात भएको छ । त्यस्तै चालु आर्थिक वर्षमा १५ अर्ब ९२ करोड ११ लाखभन्दा बढीको धान आयात समेत भएको छ । त्यस्तै धानको बीउमात्रै ८७ करोड पाँच लाख ७२ हजारको आयात गरिएको तथ्याङ्क छ ।

नेपालले मल , प्रविधि, उन्नत जातको बिउदेखि कृषि क्षेत्रमा लाग्नेहरुलाई प्रोत्साहन गर्ने नीति नबनाउँदा कृषि क्षेत्र धरासायी बन्दै गयो । सरकारले प्रत्येक आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेपनि त्यसको प्रभाव कृषि क्षेत्रमा देखिएको छैन । भण्डारणदेखि सिंचाई व्यवस्थापन गर्न नसक्दा धान चामल निर्यातको गर्विलो इतिहास अहिले आएर आयातबिना नेपालीको जीवन धान्न नसक्ने अवस्थामा पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *