Main News

मदन भण्डारीको ज्यान लिने दासढुंगा प्रकरणः कहिलेसम्म रहस्यमय ? (भिडियो रिपोर्टसहित)

२०७९ असार १४ गते २०:५०
मदन भण्डारीको ज्यान लिने दासढुंगा प्रकरणः कहिलेसम्म रहस्यमय ? (भिडियो रिपोर्टसहित)

१४ असार २०७९ काठमाडौं । तत्कालीन महासचिव मदन भण्डारीको चितवनको दासढुंगामा निधन भएपछि उहाँको नामको राजनीति एमालेमा निकै फस्टायो, तर अहिलेसम्म न हत्यारा पत्ता लगाउन एमालेले सक्रियता देखायो न त दुर्घटना नै भन्न सकेको छ ।

तत्कालीन घटना छानबिन गर्न गठित आयोगको नेतृत्व गरेका केपी शर्मा ओलीले दुईपटकसम्म पार्टी र सरकारको नेतृत्व गरिसक्नुभएको छ । भण्डारीकै पत्नी विद्यादेवी दुईपटकसम्म राष्ट्रपति बनिसक्नुभयो । तर पनि २९ वर्षसम्म रहस्यको पर्दा उघ्रिन सकेको छैन ।

तत्कालीन एमाले महासचिव मदन भण्डारीको चितवनको दासढुंगामा निधन भएको तीन दशक हुनै लाग्यो । २०५० साल जेठ ३ गतेको त्यो घटनालाई एमालेले हत्याको संज्ञा दिँदै आएको छ । तर, पटक–पटक सत्तामा जाँदा पनि छानबिनको कुनै पहल गरेन । नत त्यो सवारी दुर्घटना मात्र हो भन्न नै सक्यो ।

राजनीतिक मुद्दाका रुपमा स्थापित गर्न एमालेले हरसम्भव प्रयास जारी राखेको छ । उनै मदन पत्नी दोस्रो पटक राष्ट्रपतिको कार्यभार सम्हालिरहनुभएको छ । न त उहाँले नै घटनाको छानबिनका लागि नैतिक दबाब दिन सक्नुभएको छ । भण्डारीको रहस्यमय निधन भएको भन्दै छानबिनका लागि आयोग नै गठन गरेको एमालेले उहाँको विशेष दिनमा बाहेक मदन भण्डारीलाई बिर्सिँदै गएको छ ।

हत्याको संज्ञा दिएर एमालेले त्यसबेला र पछि पनि सडक आन्दोलन नै गर्यो । तत्कालीन अवस्थामा अहिलेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा र नागरिक समाजका तर्फबाट पद्मरत्न तुलाधरको नेतृत्वमा अलग-अलग आयोगहरू बनाइए । ओली आयोगले हत्या हो भन्नेबाहेक खासै ठोस प्रमाण पेश गर्न इच्छा देखाएन । बरु एमालेले हत्यारा पत्ता लगाउन आफू सत्तामा पुग्नुपर्ने महसुस गर्यो । ऊ पटक-पटक सत्तामा पुग्यो । तर, सत्तामा पुगेको एमालेले घटनालाई चटक्कै बिर्सिन थाल्यो । अहिले पनि एमाले नेताहरू हत्या भएको तर रहस्यमय रहेको बताउन छाडेका छैनन् ।

कतिपयले एमालेले दासढुंगा घटनालाई सत्तामा पुग्ने लिस्नो बनाएको आरोप लगाउने गर्छन् । जसको नाममा आन्दोलन गरियो र जसको विचारमा टेकेर तत्कालीन एमाले सत्तामा पुग्यो उसैको बारेमा सत्तामा पुगेपछि जयन्ती मनाउने स्थितिमा बाहेक खासै सरोकार नराखे झैँ जनतामा छाप पर्नु निश्चित रूपमा सुखद् होइन । विडम्बना नै ठान्नुपर्ला, दासढुंगा अब विस्तारै एउटा कर्मकाण्डमा रूपान्तरण हुँदैछ ।

हरेक असार १४ गतेलाई सम्झना त गरिन्छ तर, त्यो मदनको गुणगानलाई राजनीतिक लाभका रुपमा लिने पद्धति नै बसालिएको छ । यसपटक पनि त्यस्तै भयो । तरपनि एमाले नेताहरू हत्यारा पत्ता लगाउँछौं भन्न छाड्दैनन् । यसो भन्नु उनीहरूको बाध्यता हो, राजनीति हो र कतिपय अवस्थामा रणनीति पनि । यो घटना, छानबिन र दोषीलाई कारबाही गर्ने भन्ने वक्तव्य र भाषणभन्दा माथि उठेको छैन ।

भण्डारीले नै नेतृत्व गरेको तत्कालीन एमालेबाट मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओली प्रधानमन्त्री हुनुभयो । तर, घटनाको छानबिनमा सधैँ अलमल हुँदै आएको छ । हत्या भएको प्रमाण खोज्न नसक्नेले दुर्घटना भएको भन्न पनि सकेका छैनन् । राजनीतिको कुरुप प्रयोग मदन-आश्रितको निधनलाई बनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *