Main News

संस्थापन पक्षको एकलौटी निर्णयले जसपा फुटको संघारमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार १४ गते २०:४०
संस्थापन पक्षको एकलौटी निर्णयले जसपा फुटको संघारमा (भिडियो रिपोर्टसहित)

४ असार २०७९ काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)भित्रको विवाद छताछुल्ल भएको छ । स्पष्टीकरण सोध्नेदेखि मन्त्री फिर्ता बोलाउनेसम्मको संस्थापन पक्षको एकलौटी निर्णयले जसपा फुटको संघारमा पुगेको छ ।

जनता समाजवादी पार्टी (जसपा)ले संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईसहितलाई स्पष्टीकरण माग्ने निर्णय गर्यो । जसपा अध्यक्ष उपेन्द्र यादव पक्षको सोमबार बेलुका बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले भट्टराई, कृषिमन्त्री महेन्द्रराय यादव, केन्द्रीय कार्यकारिणी सदस्य गंगानारायण श्रेष्ठ र कृषि मन्त्री रहेका जसपा नेता महिन्द्र राय यादवलाई पार्टीविरुद्ध गतिविधि गरेको भन्दै स्पष्टीकरण माग्ने निर्णय भएको छ । तर, सो निर्णय औपचारिक रुपमा बाहिर आइसकेको भने छैन । पार्टी विभाजन गर्नेगरि हस्ताक्षर अभियान नै चलाएपछि स्पष्टिकरण सोध्ने अवस्था बनेको यादव निकट नेताहरु बताउँछन् ।

केहीदिन अघि बानेश्वरमा बसेको जसपा संसदीय दलको बैठकमा कृषिमन्त्री समेत रहेका यादवले घुमाउरो गरि अध्यक्षबाट उपेन्द्र यादवलाई हटाउनुपर्ने प्रस्ताव राख्नुभएको थियो । त्यस्तै, १९ सांसद मध्ये १३ सांसद यादवको विपक्षमा उभिएका थिए । तर, यादवले मन्त्री फिर्ता बोलाउने भएपछि अवसरको आशमा केही सांसद यादवतिरै फर्किएको भट्टराई निकट बताउँछन् ।

जसपाकातर्फबाट सरकारमा चार जना मन्त्री छन् । जसमध्ये कृषि मन्त्री यादवलाई फिर्ता बोलाउने निर्णय भएको बताएपनि अन्य मन्त्रीलाई के गर्ने भन्नेमा यादव अनिर्णित छन् । सबै मन्त्रीलाई फिर्ता बोलाए उनीहरु भट्टराई समुहमा मिसिन सक्ने र त्यसो हुँदा पार्टी विभाजनको आधार बलियो बन्नसक्ने सम्भावनाले सबै मन्त्री फिर्ता बोलाउने निर्णय गर्न यादव पक्ष हच्किएको छ ।

स्पष्टीकरण सोध्ने निर्णय भएपनि अहिलेसम्म त्यस्तो कुनै पत्र प्राप्त नभएको भट्टराई पक्ष बताउँछ । दुवै समुह अहिले आआफ्नो गुटको भेलामा सक्रिय छन् ।

३२ सदस्यीय कार्यकारिणी सदस्यमा १९ जना कार्यकारिणी सदस्य र ११ सांसद अहिले यादवका पक्षमा देखिन्छन् । जसपाभित्र देखिएको पछिल्लो विवादले जसपामा यादव र भट्टराई पक्षबीचको मतभेदको विषय पार्टी फुटकै तहमा पुग्न सक्ने सम्भावना भने बलियो बनेर गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *