कोभिड जोखिम भत्ता नदिएपछि रुपन्देहीको भीम अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित (भिडियो रिपोर्टसहित)

१४ असार २०७९ बुटवल । सरकारले कोभिड जोखिम भत्ता नदिएपछि रुपन्देहीको भीम अस्पतालका स्वास्थ्यकर्मी विरोधमा उत्रिएका छन् ।
स्वास्थ्यकर्मीले पत्रकार सम्मेलन गरेर तीन दिनभित्र माग सम्बोधन नभए सेवा अवरुद्ध गर्ने चेतावनी समेत दिएका छन् ।
भैरहवाको भीम अस्पतालका स्वास्थ्यकर्मीले चालु आर्थिक वर्षको सुरुवाती ६ महिनाको भत्ता पाएका छैनन् । मेडिकल सुपरिटेन्डेन्ट, चिकित्सक, स्वास्थ्यकर्मी र सफाईकर्मीसहित अस्पतालमा एक सय ७४ जना कर्मचारी कार्यरत छन् । अघिल्लो आर्थिक वर्षको अन्तिम तीन महिनाको एक करोड ५६ लाख समेत नपाएको कर्मचारीको गुनासो छ ।
कोभिडका बिरामीको सोधभर्नाबापत अस्पताल प्रशासनले दुई करोड ३९ लाख ३१ हजार रकम पनि बुझ्न बाँकी छ ।
संघीय सरकारबाट रकम निकासा भएपछि, लुम्बिनी प्रदेश हुँदै कर्मचारीले पाउने हो । स्वास्थ्यकर्मीको जोखिम भत्ता उपलब्ध गराउनको लागि पहल भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
लामो समयसम्म आफ्नो माग सुनुवाइ नभएपछि स्वास्थ्यकर्मीले संघर्ष समिति बनाएर आन्दोलन थालेका हुन् । कोरोना भाइरस महामारीका बेला भीम अस्पतालले सात सय बढी संक्रमितको उपचार गरेको थियो ।
प्रतिक्रिया