Main News

एकीकृत समाजवादीका मन्त्री हेरफेरले गठबन्धनमा दबाब (भिडियो रिपोर्टसहित)

२०७९ असार १३ गते २१:०६
एकीकृत समाजवादीका मन्त्री हेरफेरले गठबन्धनमा दबाब (भिडियो रिपोर्टसहित)

१३ असार २०७९ काठमाडौं । पाँच दलीय सत्तारुढ गठबन्धनका घटकहरुमा यतिबेला मन्त्री हेरफेरको विषय जबरजस्त प्रवेश गरेको छ ।

एकीकृत समाजवादीका मन्त्रीहरुको फेरबदल भएपछि अन्य दलहरुमा पनि मन्त्री फेर्न दबाब शुरु भएको छ । यसले कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुका लागि टाउको दुखाइ भएको सम्बद्ध दलका नेताहरुले बताउने गरेका छन् ।

सत्ता सहयात्री दल एकीकृत समाजवादीले आफ्नो पार्टीकातर्फबाट सिफारिस भएका मन्त्री फेर्न दबाब दिएको लामै समयसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले सुनेको नसुन्यै गर्नुभयो । तर एकीकृत समाजवादीको चर्को दबाबपछि बल्ल प्रधानमन्त्री देउवा मन्त्री हेरफेर गर्न तयार बन्नुभयो ।

एकीकृत समाजवादीका तर्फबाट चार मन्त्रीले सोमबार सपथ ग्रहण गरे । समाजवादीबाट शहरी विकास मन्त्रीमा मेटमणी चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जीवनराम श्रेष्ठ, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानी खापुङले सपथ ग्रहण गर्नुभयो ।

मन्त्री हेरफेरको असर देउवा नेतृत्वकै कांग्रेस, अर्को सत्ताधारी दल माओवादी केन्द्र र जनता समाजवादी पार्टीमा पनि परेको छ । एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्ने निर्णय गरेकै दिन कांग्रेसभित्र पनि नयाँ अनुहारले मन्त्री बन्न चाहेको विषय महामन्त्री गगन थापाले नै सार्वजनिक गरिदिनुभयो ।

कांग्रेसमा मात्र होइन, माओवादी केन्द्रमा सुरुदेखि नै अर्थमन्त्री जनार्दन शर्मा हटाउनुपर्ने, उर्जामन्त्री पम्फा भुसालले काम गर्न नसकेको भन्दै पार्टीभित्रै आलोचना हुने गरेको छ । सरकारमै जाने चाहना राखेर जनता समाजवादी पार्टी फुट नजिक पुगेको छ । यसले सत्तागठबन्धनकै अंकगणितमा असर पर्ने खेलहरु हुने संकेत देखा परेका छन् ।

जानकारका अनुसार पनि एकीकृत समाजवादीको मन्त्री फेरबदलले सत्ता गठबन्धनमा संकट उत्पन्न हुने अनुमान गर्न थालेका छन् । कात्तिक वा मंसिरमा निर्वाचनको तयारीमा जुटेको वर्तमान सरकारलाई दबाब बढाएको छ । अहिले सांसद रहेकाहरुले भोलि पुनः जित्ने अवस्था नदेखेपछि एकपटक भएपनि मन्त्री हुने लालसा देखाएको जानकारको तर्क छ ।

सरकार जोगाउनै पनि प्रधानमन्त्री देउवाले मन्त्री हेरफेर गर्ने सम्भावना रहेको छ । चुनावको तयारीमा जुट्नुपर्ने वर्तमान सरकारमा देखिएको पदलोलुपले गठबन्धनप्रतिको वितृष्णा बढाउने निश्चित छ । यसले गठबन्धन दललाई घाटा पुर्‍याउने जानकारहरुको बुझाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *