कस्तो रहनेछ आगामी तीन दिनको मौसम ? (भिडियो रिपोर्टसहित)
१३ असार २०७९ काठमाडौं । गत जेठ २२ गते प्रदेश १ हुदैं भित्रिएको मनसुन आइतबार सुदूरपश्चिम प्रदेशमा प्रवेश गरेसँगै देशभरि मनसुन थप सक्रिय भएको छ ।
पश्चिमी वायुको न्यून चापीय रेखा तराई भू–भाग नजिक आईपुग्ने भएकाले मंगलबारदेखि बिहीबारसम्म मनसुन थप सक्रिय हुने देखिएको छ ।
केही दिनदेखि देशभर वर्षा हुने क्रम जारी छ । गत जेठ २२ गते पूर्वी नेपालबाट भित्रिएको मनसुन आसार १२ गतेसम्म आइपुग्दा सुदुर पश्चिम प्रदेशसम्म पुगेको छ । यसैसंग देशभरि नै मनसुनी वायुको प्रभाव परेको छ ।
मंगलबारदेखि बिहीबारसम्म पश्चिमी न्यून चापीय रेखा नेपालको तराई भू–भागनजिक आईपुग्ने सुंभावना रहेकोले यसबीचमा मनसुन थप सक्रिय हुने अनुमान छ। आगामी तीन दिन सातै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भई प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भूभाग र मधेसका केही भूभागमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।
मंगलबार र बुधबार प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनको प्रभाव बढी देखिनेछ भने बिहीबार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान प्रभावित हुने सम्भावना छ ।
भारी वर्षासँगै मंगलबारदेखि बिहीबारसम्म देशका पहाडी भूभागमा पहिरोको जोखिम रहेको छ भने तराई भेगका नदीनालामा पानीको सतह बढ्नसक्ने सम्भावना छ । पहिरो र बाढीका कारण जनजीवन प्रभावित बन्न सक्ने हुँदा आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यसवर्ष नेपालमा साविकभन्दा छिटो मनसुन भित्रिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्ष मनसुनी गतिविधिबाट झण्डै २० लाख मानिस प्रभावित हुनसक्ने आँकलन गरेको छ ।
प्रतिक्रिया