राजनीति

संघ र प्रदेश निर्वाचनमा २० लाख मत प्राप्त गर्नुपर्छः अध्यक्ष नेपाल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार १३ गते १६:३९
संघ र प्रदेश निर्वाचनमा २० लाख मत प्राप्त गर्नुपर्छः अध्यक्ष नेपाल (भिडियो रिपोर्टसहित)

१३ असार २०७९ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीले २० लाख मत प्राप्त गर्नुपर्ने बताउनुभएको छ ।

आज नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टीले २० लाख मत प्राप्त गर्नुपर्ने बताउनुभएको हो । उहाँले स्थानीय तह निर्वाचनमा पार्टीले २८ प्रतिशत ठाउँमा उम्मेदवार खडा गरेको र ९ लाख मत प्राप्त गरेको उल्लेख गर्नुभयो ।

उहाँले आगामी निर्वाचनमा २० लाख मत प्राप्त गर्नका लागि सबै ठाउँमा उम्मेदवार उठाउनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो – ‘हामीले यसपटक झन्डै २८ प्रतिशत मात्रै ठाउँमा उम्मेदवार खडा गरेका थियौँ । २८ प्रतिशत उम्मेदवारबाट झन्डै ९ लाख मत हामीले प्राप्त गरेका थियौँ । २८ प्रतिशत उम्मेदवार खडा गर्दाखेरी हामीले ९ लाख मत प्राप्त ग¥यौँ भने यदि हामीले सबै ठाउँमा उम्मेदवार खडा गरेको भए यो भन्दा दोब्बर, तेब्बर मत प्राप्त गर्न सक्ने थियौँ । कम्तिमा पनि २० लाखको सेरोफेरोमा हामीले मत प्राप्त गर्नसक्ने थियौँ । २० लाखको सेरोफेरोमा मत प्राप्त गर्ने हो भने हाम्रो प्रतिनिधि सभा र प्रदेश सभामा केही सिटहरु सुनिश्चित हुनेछ । प्रत्यक्ष रुपमा लडेर जितेका ठाउँमा अतिरिक्त सिट हामीले हासिल गर्न सक्दछौँ ।’

अध्यक्ष नेपालले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा अधिकतम सफलता हासिल गर्न ध्यान दिन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । पार्टीको समानुपातिक मत बढाउनका लागि प्रतिनिधि सभा र प्रदेश सभाको सबै सिटमा अहिलेदेखि नै उम्मेदवार तयार गरेर राख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन, अब हाम्रो सम्पूर्ण ध्यान त्यही निर्वाचनमा तयारी हुने, तयार गर्ने । निर्वाचनमा अधिकतम सफलता हासिल गर्ने । अरुमाथि भरोसा गरेर चल्ने होइन । हामीले आफ्नो शक्ति निर्माण गर्ने कामका लागि १६५ वटै निर्वाचन क्षेत्रमा हामीले अहिलेदेखि नै उम्मेदवार, पार्टी प्रतिनिधि भोलि चुनावमा उठाउनुपर्ने उहाँहरु मध्ये नै हुनेछ ।

अध्यक्ष नेपालले विश्व शक्ति राष्ट्रहरुका बीचमा द्वन्द्वका खतराहरु देखिएको भन्दै त्यसमा नेपाल सजग हुनुपर्ने बताउनुभयो । उहाँले नेपाली जनतामा देशभक्तिको भावना बलियो बनाउन सकेमा शक्तिराष्ट्रहरुको आन्तरिक द्वन्द्वबाट नेपाललाई बचाउन सकिने बताउनु भयो ।

उहाँले देशभक्तिको पक्षमा जनमत तयार गर्नु र देशभक्त जनतालाई आफ्नो वरपर गोलबन्द गर्नु पार्टीको जिम्मेवारी रहेको पनि बताउनु भयो । उहाँले भन्नुभयो – ‘विश्वका राष्ट्रहरुका बिचमा द्वन्द्वका खतराहरु, द्वन्द्वका बादलहरु मडारिइरहेका छन् । हामी सजग हुनुपर्दछ । यसको निम्ति नेपाली जनतालाई जति एकतावद्ध बनायौँ, नेपाली जनताको एकतालाई जति बलियो बनायौँ, नेपालभित्र जति देशभक्तिको भावना बिस्तार गर्न सक्यौँ, जति देशलाई अरु शक्ति राष्ट्रहरुको आन्तरिक द्वन्द्वबाट बचाउन सक्छौँ नेपालको स्वतन्त्रता जोगिनेछ । ’

उहाँले पार्टीको काममा सक्रियापूर्वक लाग्न र गरेका कामको प्रचार–प्रसार गर्न निर्देशन समेत दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्