राजनीति

एकीकृत समाजवादीः मन्त्री बन्न सेटिङ, पार्टीलाई पैसा बुझाउने-राज्यको ढुकुटी कुम्ल्याउने (भिडियो रिपोर्टसहित)

२०७९ असार १२ गते २०:४८
एकीकृत समाजवादीः मन्त्री बन्न सेटिङ, पार्टीलाई पैसा बुझाउने-राज्यको ढुकुटी कुम्ल्याउने (भिडियो रिपोर्टसहित)

१२ असार २०७९ काठमाडौं । एमाले विभाजनबाट जन्मिएको नेकपा एकीकृत समाजवादी पार्टी हाल गठबन्धन सरकारमा छ । यो पार्टीका शीर्ष दुई नेता बाहेक धेरैजसो नेता र सांसद तत्कालीन एमालेमा वा नेकपामा हुँदा मन्त्री बन्न पाएका थिएनन् ।

पार्टी विभाजनपछि सरकारमा पुगेका ती सांसदहरु सरकारबाट फर्किन पार्टीले नै दिएको निर्देशनसमेत सहजै स्वीकार गर्न तयार भएनन् ।

नेपालमा कतिपय संस्थान वा संवैधानिक निकाय वा केही सरकारी सेवाका उच्च पदमा पुग्न ब्रिफकेस बुझाउनुपर्छ भन्ने चर्चा स्थायी रुपमै हुने गर्छ । एउटा निकायको प्रमुख हुनलाई समेत ब्रिफकेसको चर्चा स्वीकार्य छ भने मन्त्री हुनलाई सानो ताकतले पक्कै काम गर्दैन ।

केही अपवादबाहेक मन्त्री हुन ठूलै चलखेल र सेटिङ हुनुपर्छ भन्ने पुष्टि यसपटकको गठबन्धन सरकारबाट समेत भएको छ । यो सरकारमा सहभागी भएका रंगीचंगी मन्त्री, तीनको स्वभाव र आचारण असामान्य देखिन्छ । पाँच दलीय गठबन्धन सरकारको प्रभावशाली घटक एकीकृत समाजवादीबाट मन्त्री भएका कतिपय व्यक्ति त झनै अपत्यारिला र अस्वभाविक छन् ।

संविधानतः मन्त्री हुनलाई सांसद भए पुग्छ, ६ महिना मात्रलाई मन्त्री हुन त सांसदसमेत हुन पर्दैन । तर सामान्य बुझाइमा मन्त्री हुने व्यक्तिको व्यक्तित्व मन्त्री हुने जस्तै चाहिन्छ । त्यो आचरण र काम गर्न सक्ने इच्छाशक्ति भएको व्यक्ति मन्त्री हुनुपर्छ, जसबाट केही काम र परिवर्तनको अपेक्षा हुन्छ । यी आम मानिसको मर्मका कुरा पार्टीले बुझ्ने कुरै भएन ।

त्यसैले नागरिकका लागि प्रभावकारी काम गर्ने भन्दा पनि नेतृत्वलाई प्रभावमा पार्न सक्ने, चलखेल गर्न सक्ने र पार्टीलाई ब्रिफकेस बुझाउन सक्नेहरु मन्त्री बन्ने गरेका छन् । एकीकृत समाजवादीबाट मन्त्री भएका कतिपय नेतामाथि यो आरोप लागिरहेकै छ ।

जुनै बाटो अपनाएर भए पनि मन्त्री बनिसकेपछि पनि लोकलाजको समेत ख्याल नगर्ने र माल पाए पनि चाल नपाउनेहरुले मन्त्रीको पदीय र कदीय मर्यादासमेत विर्सिने गरेका छन् ।

मन्त्री बनेपछि राज्यको ढुकुटीलाई आफ्नो तजबिजमा बाँड्न पाइने, बजेट आफूअनुकूल वितरण गर्न पाइने भएकाले मन्त्री बन्न नेताहरू मरिहत्ते गर्छन् । पार्टीहरु पनि पदहरू काँक्रो चिरेर भाग लगाएजस्तै मन्त्री पद भाग लगाउन पछि पर्दैनन् । मन्त्री बन्नकै लागि पार्टी विभाजन, गुट परिवर्तन, पार्टी नै फेरबदल सामान्य विषय भइसकेका छन् ।

पार्टीलाई पैसा बुझाएर मन्त्री बन्ने र मन्त्री बनेपछि राज्यको ढुकुटी कुम्ल्याउने काम वर्षौँदेखि भइरहेको छ । काम गर्नेभन्दा पनि कुम्ल्याउने सुत्र जानेकाहरु मन्त्री बनिसकेपछि फेरि सडकमा फर्किन कसरी मानून् ? एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरु चाँहि मन्त्री पद छोड्न किन यति लामो समय पर्खिए ? सायद यसको उत्तर भने पत्रकार सम्मेलनमार्फत् प्राप्त हुन थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्